काठमाण्डु- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्वतयारीको जानकारी दिँदै उनले सार्वजनिक यातायातको भाडा बढाउन नसकिने बताएका हुन् ।
दसैँ तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने भए पनि यातायात व्यवसायीहरूले भाडा वृद्धिको लबिङ गरिरहेको बताउँदै मन्त्री ज्वालाले मुख्य चाडपर्वको मुखमा भाडा बढाउन नसकिने प्रस्ट पारे ।
‘दसैँ तिहार छठ जस्ता मुख्य चाडपर्वमा गाउँ जाने, घर जाने सर्वसाधारणका लागि कसरी सुरक्षित र भरपर्दो यात्रा गराउने भन्नेमा सरकार गम्भीर भएर लागेको छ । सडक सुरक्षालाई नै लिएर मन्त्रालयले दसैँ अघि नै मुख्य मुख्य राजमार्गहरू मर्मत कार्य अघि बढाएको छ । सँगै सहज यात्राका लागि दसैँ तिहारको अग्रिम टिकट बुकिङका लागि समेत मन्त्रालयले यातायात व्यवस्था विभागसँगको समन्वयमा यातायात व्यवसायीहरूसँग नियमित बैठक, तयारी गरिरहेको छ । तर, यातायात व्यवसायीहरूले भने भाडा वृद्धि गर्नुपर्ने माग राखिरहेको आफूले चाडपर्वको मुखमा भाडा वृद्धि गरेर सर्वसाधारण उपभोक्तालाई मारमा पार्न सकिँदैन । यसले राम्रो म्यासेज पनि जाँदैन ।’, उनले भने ।




प्रतिक्रिया