काठमाण्डु – काठमाण्डु महानगरपालिकाले मापदण्डभन्दा धेरै प्रदूषण फैलाउने र धुवाँ फाल्ने गाडी धनीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरले सूचना निकालेर मापदण्ड विपरीत प्रदूषण सिर्जना गर्ने गाडीधनीलाई ३ लाख रुपैयाँसम्म जरिवाना गरी २ महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ ।
दिएको आदेश बमोजिम कार्य नभएमा जरिवानाको तेब्बर अर्थात् ६ लाख रुपैयाँ जरिवाना गराउने सूचनामा उल्लेख छ ।
काठमाण्डु महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने गाडीको वायु प्रदूषण जाँच नियमित गर्ने पनि जनाएको छ । अहिले नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी धुवाँजन्य प्रदूषण, उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकमा सञ्चालन भइरहेका गाडीको धुवाँ निष्कासनको अवस्था अत्यन्त दयनीय देखिएकाले कडा कारवाहीको अभियान थालिएको महानगरले जनाएको छ ।
वायु प्रदूषणका मुख्य कारकमध्ये गाडीबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेको महानगरले जनाएको छ । कुनै गाडीले धेरै धुवाँ फाल्ने र प्रदूषणको मापदण्ड पालना नगरेको शंका लागेमा सूचना दिन पनि काठमाण्डु महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ ।




प्रतिक्रिया