काठमाण्डु- प्यालेस्टाइनी समूह हमासले शनिबारदेखि इजरायलको दक्षिण क्षेत्रमा गरेको आक्रमणमा केही नेपालीहरु पनि परेका छन्। इजरायलमा प्यालेस्टाइनी समूहले निरन्तर आक्रमण जारी राखेपछि त्यहाँ रहेका नेपालीहरुले आफूहरुलाई घर फर्काइदिनका लागि अपिल गरेका छन्।
इजरायलको नेटिभोट नजिकैको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थीहरुले आफूहरु आक्रमण भएको स्थानबाट ३० किलोमिटरको दूरीमा रहेको बताएका छन्। जसमध्ये एक जना नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दैँ उद्धारको अपिल गरेका छन् ।
अन्नपुर्ण गाउँपालिका २ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पत्रमार्फत फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन् । सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरे ।
‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं । सरकारले हामीलाई अवश्य नेपाल फर्काउने छ । तपाईहरुकै विश्वासले हाम्रो सास अडिएको छ’, उनले पत्रमा लेखेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने वक्तव्य दिएपछि त्यहाँ असुरक्षा थप बढेको छ। जसका कारण पनि नेपालीहरु आत्तिएका छन्। प्यालेस्टाइनी समूह हमासले निरन्तर आक्रमण जारी राखेको छ।





प्रतिक्रिया