काठमाण्डु – काठमाण्डु महानगरपालिकाले भोलि मंगलबारदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम गर्ने भएको छ ।
पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम चल्ने महानगरले जनाएको छ ।
महानगरबाट सञ्चालन भएको कार्यक्रमअन्तर्गत भदौ २७ गते जारी भएको सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये ९ वटा संस्थाले कुकुर र बिरालोलाई बन्ध्याकरण गराउन लागेका छन् ।
छानिएका संघसंस्था हरेकलाई छानेको एउटा वडा जिम्मा दिइएको छ । जसमा वडा नम्बर ४ मा पशुपन्छीप्रति निर्दयता रोकावट समाज नेपाल, वडा नम्बर ७ मा काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर), वडा नम्बर ९ मा बत्तिसपुतली युवा समाज, वडा नम्बर ११ मा अक्सा नेपाल, वडा नम्बर १४ मा एनिमल नेपाल, वडा नम्बर १५ मा नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर, वडा नम्बर २५ मा स्नेहाज केयरले कार्यक्रम सञ्चालन गर्नेछन् ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले वडा नम्बर ३१ मा भेट फर योर पेट र वडा नम्बर ३२ मा मण्डला भेट हस्पिटलले काम गर्ने जानकारी दिए ।
‘३ महिनामा ५ हजार ८०० सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ,’ उनले भने । यसअघि बन्ध्याकरण गरिएका कुकुर–बिरालोलाई खोप दिने उनले बताए ।




प्रतिक्रिया