काठमाण्डु – इजरायलमाथि हमासले आक्रमण गर्दा मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव नेपाल ल्याइएको छ ।
फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।
उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको छ ।
न्यौपानेको शव शनिबार राति ल्याइएको थियो भने धामी र विष्टको शव आज आईतबार बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उनीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषाको सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पचनाली–३ का राजन फुलारा, डोटीको लामीखाल–८ का पदम थापा र सल्यानको शारदा–३ का प्रवेश भण्डारी छन् ।
आक्रमणको दिनदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपीन जोशी सम्पर्कविहीन छन् ।
आक्रमणमा परी मृत्यु भएका बाँकी ६ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।




प्रतिक्रिया