काठमाण्डु – इजरायलस्थित नेपाली दूतावासले लेबनानसँगको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गरेको छ ।
दूतावासले लेबनानसँगको सीमा क्षेत्रमा रकेट तथा मिसाइल प्रहारका घटना बढेको जनाउँदै इजरायलले किरियत शमोना लगायत बस्तीबाट मानिसलाई अन्त्रय सार्न सुरु गरेको जानकारी प्राप्त भएको बताएको छ ।
सीमा क्षेत्र आसपास रहेकाहरूले सुरक्षा सावधानीको पालना गर्न र सचेत रहन दूतावासले अनुरोध गरेको छ ।
दूतावासले भनेको छ, ‘सो आसपास बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन हार्दिक अनुरोध गर्दछौं । सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा पर्नुभएकाहरूले दूतावासमा तुरुन्त जानकारी गराउनुहुन पुनः अनुरोध गर्दछौं ।’
इजरायलमा बस्ने नेपालीको विस्तृत विवरण संकलन गर्न लागेकाले इजरायलवासी नेपालीले दूतावासको वेबसाइटमा राखिएको तथ्यांक फाराम अनिवार्य भर्न पनि आग्रह गरिएको छ ।
दूतावासको आग्रह छ, ‘परिस्थिति बिग्रिँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण संकलन गर्न लागेकोले इजरायलवासी सम्पूर्ण नेपालीहरूले दूतावासको वेबसाइटमा राखिएको तथ्यांक संकलन फर्म अनिवार्य भर्नु हुन हार्दिक आह्वान गर्दछौं । यसअघि स्वदेश फर्किन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका लागि भएकोले इजरायलवासी सबै नेपालीहरूले यो अनलाइन रजिष्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला, फर्म भर्न मेसो नपाउनेले दूतावासमा सम्पर्क गर्नुहोला ।’




प्रतिक्रिया