काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
रूपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ ।
बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु३१प ९१५९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८ बैकुन्ठपुरस्थित सडकमा लु९०प ४१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका–१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–११ भगनी मलेठस्थित सडकमा रोकेर राखेको बा१०च ७१६४ नम्बरको पिकअपमा को२८प ५६१२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कमलपुर बस्ने २३ वर्षीय दिपेन्द्र शर्मा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका–६ औरहास्थित सडकमा वीरगञ्जबाट औरहातर्फ जाँदै गरेको प्रदेश ०२–०३–००९ प ७०३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री ७० वर्षीय ब्रहमदेव महराको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया