‘चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीशलाई सरूवा हाेइन कारबाही गर्नुपर्थ्यो’

‘चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीशलाई सरूवा हाेइन कारबाही गर्नुपर्थ्यो’


काठमाण्डु- सांसदहरुले ठूला नेता र व्यापारीलाई अदालतले सर्वसाधारणलाई भन्दा फरक व्यवहार गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्ने नेकपा माओवादी केन्द्रका सांसदहरुले भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारले चालेका कदममा अदालतबाट सहयोग नभएको टिप्पणी गरेका हुन्।

माओवादी सांसद नरबहादुर विष्टले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी कम्पनीमा सारेर अनियमितता गरेको प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतले दिएको आदेशप्रति प्रश्न उठाए। सांसद विष्टले न्यायाधीश आचार्यलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्नेमा मुगु सरुवा गरेको सुनेको बताए। ‘मैले आज न्युज सुनेँ, अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीशको मुगु सरुवा भयो रे। उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्थ्यो’, उनले भने।

त्यस्तै प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पनि अदालतले ठूला नेता र व्यापारीलाई र सर्वसाधारणलाई फरक व्यवहार गरेको अनुभूति भएको बताए।

नेकपा एमालेका सांसद कुमार दसौंदीले न्यायालयबाट ठूला नेता र व्यापारी जस्तोसुकै मुद्दामा समेत छुट्छन् भन्ने भाष्य स्थापित हुँदै गएको बताए। ‘ठूला नेता जेसुकै गरे पनि छुटिहाल्छ। धनीहरु जेसुकै गरे पनि छुटिहाल्छन्। यस्तो भाष्य निर्माण भयो भने जनताको आक्रोश बढ्न सक्छ’, उनले भने। उनले न्यायालयले गर्ने फैसला र आदेशमा प्रश्न उठ्नु दुखद् भएको बताए। ‘अब यसको सम्बन्धमा नयाँ ढंगले सोच्नुपर्छ। न्यायाधीश नियुक्तिमा ख्याल गर्नुपर्छ। भोलि अदालतले सरकारले जस्तो निर्णय गरे पनि उल्टाइदिन्छ। त्यसो हुँदा के गर्ने ?’ सांसद दसौंदीले भने।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले २२ माघमा दुई दिनभित्र अनुसन्धान सकेर चौधरीलाई रिहा गर्न आदेश दिएका थिए। त्यसपछि २४ माघमा चौधरी रिहा भएका थिए।