काठमाण्डु – सशस्त्र प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डिआईजी) को बढुवा प्रक्रिया सुरु भएको छ । गृहमन्त्रालयले रिक्त एक डिआईजी पदका लागि सात दिने सूचना प्रकाशित गरेको हो । सशस्त्रमा डिआईजीको दरबन्दी गत भाद्रदेखि रिक्त थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसअघि दरबन्दी रिक्त नराखेर बढुवा प्रक्रिया अघि बढाएपनि पछिल्लो समय भने राजनीतिक दबावको अघि घुंडा टेक्न थालेका छन् ।
गृहमन्त्रालयले गठन गरेको बढुवा समितिका सदस्य सचिव एआईजी चन्द्र प्रकाश गौतमले बिहिवार सूचना प्रकाशित गर्दै बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण पत्रका प्रतिलिपिहरु संलग्न गरी मूल्यांकन फाराम सात दिनभित्र गृहमन्त्रालयमा पेश गर्न भनिएको छ ।
बढुवाका लागि सशस्त्रमा सिसम १ का एसएसपीहरु दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा मुख्य दावेदार छन् । उनिहरुले डिआईजी हुनका लागि आवश्यक पर्ने स्टाफ कलेज समेत गरेका छन् । वरियता र नियमअनुसार बढुवा भएको अवस्थामा अधिकारी डिआईजी हुने सम्भावना छ ।
यसअघि बढुवामा छुटेका एसएपीहरु कृष्ण पाठक, विनोद श्रेष्ठ र प्रकाश थापाले स्टाफ कलेज नगरेकाले उनिहरु बढुवाको बास्केटमा पर्ने सम्भावना कम छ । त्यसका साथै प्राविधिक पृष्ठभुमिका प्रविण कंडेल समेत प्रधानमन्त्री पुष्पकमल दाहालको शक्ति लगाएर बढुवा हुनेमा भएपनि उनि वरियतामा पछि छन् ।
यसअघि वरियतामा दुई दर्जन पछि हुंदा समेत सिसम २ मा एक नम्बरमा बढुवा भएका एसएसपी दिपेन्द्र कुवंर समेत अहिले नै बढुवा हुन जोडबल गरिरहेका छन् । उनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजी ज्वांई हुन् ।
हाल उनि देउवाकै कारण सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनलाई सशस्त्रमा खरिद हेर्ने प्रवन्धको जिम्मेवारी दिएर राखेका छन् । अर्यालले नै उनलाई यसअघि देउवालाई खुसी पार्न एक नम्बरमा बढुवा गरेका थिए ।
‘अहिले पनि वरियतालाई कायम राख्ने हो भने सिसम १ बाट नै कोही हुनुपर्ने हो । तर, ज्वांई सापको अघि आईजी सापले के गर्नुहुन्छ हेरौं । कुवंरलाई बढुवा गर्न दबाव छ निकै ठुलो छ । ’सशस्त्रका एक उच्च अधिकारीले भने ।
सशस्त्रमा अहिले पनि कुवंर र एसपी पूर्ण साउंदले संगठनलाई आफु अनुकुलतामा चलाउंदै आएको गुनासो छ ।




प्रतिक्रिया