काठमाण्डु – रौतहट जिल्लाको ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वती देवीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
मूर्ति सेलाउने विषयमा शनिबार साँझ २ पक्षबीच विवाद हुँदा झडप भएपछि प्रशासनले कर्फ्यू लगाएको हो । झडपमा केही स्थानीय घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले २ पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए । प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
कर्फ्यूसँगै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध गरेको थियो ।
आज शनिबार स्थानीय प्रशासनको रोहबरमा दुवै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएपछि झडपको स्थिति बनेको छ ।




प्रतिक्रिया