संघीयताले अथाह सम्भावना सिर्जना गरेको छ: प्रधानमन्त्री प्रचण्ड

संघीयताले अथाह सम्भावना सिर्जना गरेको छ: प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्।

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए। सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए।

उनले भने, “परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनु छ। रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नु छ। युवाहरूमा आशाको रक्तसञ्चार गर्नु छ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नु छ।”

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री दाहालले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैं चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधानसमेत यहीँ व्यवस्थाभित्र मात्रै सम्भव रहने उनको भनाइ थियो। प्रधानमन्त्री दाहालले भने, “लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, संघीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुनसक्छ।”

Metro Mart
worldlink
जनताको जागरुकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव हुने बताउँदै प्रधानमन्त्री दाहालले कानूनको शासन, मानवअधिकारका मूल्य र मान्यता, लैंगिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिने बताए।