काठमाण्डु- धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन्।
आरोपीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को रसिद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कायालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताए। उनीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएर अर्को समूह बनाएको प्रहरीलाई बताएका छन्।
आरोपीहरुले काठमाडौं उपत्यकामा पटक–पटक फोन गरेर धम्क्याएर ५० लाख रकम मागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। उनीहरुलाई मच्छेगाउँबाट पक्राउ गरेर आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी रेग्मीले जानकारी दिए।




प्रतिक्रिया