देशभर विभिन्न स्थानमा सवारीसाधन दुर्घटना हुँदा ७ जनाको मृत्यु

देशभर विभिन्न स्थानमा सवारीसाधन दुर्घटना हुँदा ७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा सवारीसाधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१६ सर्रा चोकमा रा५प ५४५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ बस्ने २१ वर्षीय विवेक पुन र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय नेत्र भण्डारी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–३ बेलाहानीस्थित सडकमा लु३६प ५४९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ मोहन डाँडा बस्ने २१ वर्षीय पदमबहादुर बयम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१५ धापाखेलस्थित सडकमा बा९५प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–१ गोदाम चौर बस्ने १८ वर्षीय सम्पुर्ण रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित सडकमा प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका–१ बस्ने २४ वर्षीय शम्भु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकमा ना६ख ३३५२ नम्बरको ट्रक र बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बोलेरो चालक हाल नाम, थर, वतन नखुलेका पुरूष र भारतको बिहार राज्य मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ३ जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।