जिसस प्रमुख गौतमले थाले आमरण अनसन, धुलिखेल सडक निर्माण गर्न माग

जिसस प्रमुख गौतमले थाले आमरण अनसन, धुलिखेल सडक निर्माण गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले आमरण अनसन थालेका छन् ।

धुलिखेल–खावा सडक तत्काल निर्माण सक्न माग गर्दै उनी अनसन बसेका छन् ।

अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम सुस्त भएपछि उनी अनसन बसेका हुन् । सम्झौताको करीब २ महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडकखण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो ।

कार्यालयले हालै सूचना जारी गर्दै सडकखण्डमा कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको जनाएको छ । सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न कार्यालयले निर्माण कम्पनीलाई भनेको छ ।

पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएको सूचनामा उल्लेख छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो ।

सम्झौताको समयावधि नजिकिँदै गर्दा एकतिहाइ काम समेत नसकिएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।