यूट्युबरलाई प्रेस काउन्सिलको अभिमुखीकरण : मर्यादित सामग्री सम्प्रेषण गर्न आग्रह

यूट्युबरलाई प्रेस काउन्सिलको अभिमुखीकरण : मर्यादित सामग्री सम्प्रेषण गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रेस काउन्सिल नेपालले यूट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ ।

मंगलबार काउन्सिल सभाहलमा यूट्युब च्यालनका सञ्चालक/सम्पादकलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानूनी प्रावधानबारे कक्षा दिइएको छ ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यूट्युबमार्फत मर्यादित सामग्री सम्प्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए । पत्रकार आचारसंहिता र त्यसका प्रावधानबारे प्रस्तुति राख्दै उनले जुनसुकै समाजले नयाँ कुरा सहजै स्वीकार नगर्ने हुँदा निरन्तर मर्यादित सामग्री दिएर पनि समाजको स्वीकार्य हुनुपर्ने बताए ।

यूट्युबमा समाचारजन्य र सार्वजनिक सरोकारका विषयवस्तु राख्ने हो भने पत्रकार आचारसंहिता र प्रचलित ऐन कानूनको परिधिमा बाँधिनैपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा यूट्युबको व्यवस्थापनमा काउन्सिल विषयक कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलले लामो समयदेखि यूट्युब र यसबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा गरिरहेको गृहकार्यबारे जानकारी दिए । विभिन्न सञ्चार निर्देशिका र तिनमा रहेका प्रावधानबारे कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलकी पूर्व सदस्य शुभेच्छाविन्दु तुलाधरले यूट्युबमार्फत गरिने पत्रकारिता आचारसंहिता र निर्देशिकाको मातहतमा रहनैपर्ने बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले चालू आर्थिक वर्षमा यूट्युबबाट प्रसारित सामग्रीबारे २९ वटा उजुरी परेको जानकारी दिए । उनले अनुगमन गर्ने सचेत गराउने र कारबाही गर्ने प्रक्रियाबारे बुझाउन पनि यूट्युब सञ्चालकका लागि कार्यक्रम सुरु गरिएको बताए ।

कार्यक्रममा सहभागीले यूट्युब सञ्चालन गर्दाका समस्या विषयवस्तुको छनोट, प्रसारण र काउन्सिलको अनुगमन तथा कारबाही प्रक्रियाबारे जिज्ञासा राखेका थिए ।

काउन्सिलका आचारसंहिता अनुगमन अधिकृत महेन्द्रराज सिंहले सहजीकरण गरेको कार्यक्रममा ३० जना यूट्युब सञ्चालक तथा सम्पादकहरूको सहभागिता थियो ।