काठमाण्डु – राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीलाई पदमुक्त गर्न निर्देशन दिएको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ विपरीत गएर अधिकारीलाई नियुक्ति गरेको देखिएपछि केन्द्रले पदमुक्त गर्न निर्देशन गरेको हो ।
शैक्षिक योग्यता तथा अनुभव नहेरी तत्कालीन वनमन्त्री शक्ति बस्नेतले मन्त्रिपरिषद्मा लगेको ठाडो प्रस्तावको आधारमा नियुक्त भएका उनीविरुद्ध केन्द्रमा उजुरी परेको थियो ।
उजुरीमाथि छानबिन हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ को दफा ५ (च) बमोजिम नियुक्ति गर्दा मनोनयनको प्रक्रिया समेत पूरा नगरेको केन्द्रको ठहर छ । वन मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी, कार्यकारी प्रमुख तथा सदस्यको नियुक्ति र मनोनयनको लागि छनौट गर्दा अपनाउनुपर्ने कार्यविधि २०७५ मा उल्लेखित कार्यविधिको पालना नगरेको बताइएको छ ।
केन्द्रले अधिकारीको नियुक्ति विधिसम्मत नदेखिएकाले आवश्यक कारबाही गर्न भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ (छ) बमोजिम निर्देशन दिएको छ । केन्द्रको सोमबार बसेको सचिव स्तरीय बैठकले अधिकारीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ अनुसार कोषको सञ्चालक समितिको सदस्य सचिव पदमा मनोनीत हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान, विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ । अधिकारीले भने आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् । उनी २०७७ पुस ३ गते कोषको सदस्य सचिव नियुक्त भएका थिए ।




प्रतिक्रिया