भक्तपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत मसान्तभित्र स्थानीय तहहरूमा विद्यालय तहको पाठ्यपुस्तक पुर्याइसक्न जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको छ ।
आधारभूत तहको ५ कक्षादेखि मावि तहको १० कक्षासम्मको १ करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विक्रम संवत् २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी व्यवस्था गर्न निर्देशन दिएको छ ।
आधारभूत तहको १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरूप गर्न निर्देशन दिइएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको ढुवानी सुरु गरिसकेको बताए । मन्त्रालयको निर्देशन आउनुअघि नै पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पुगेको बताइएको छ ।
छपाइ सकिएका पुस्तकहरू उपत्यकाबाहेक ७ वटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको छ । मन्त्रालयको निर्देशन कार्यान्वयन हुने र पुस्तक अभाव हुन नदिने भन्दै चैत १५ गतेदेखि पाठ्यपुस्तक पालिकामा ढुवानी गरिने उनले बताए ।
पहिलो चरणमा हिमाली, दोस्रो चरणमा पहाडी, तेस्रो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरूमा पुस्तक पुर्याउने गरी जनक शिक्षाले कार्य गरिरहेको प्रबन्ध निर्देशक झाले बताए । उनले मन्त्रालयको निर्देशनअनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरूमा पुस्तक पुर्याउने गरी केन्द्रले काम गरिरहेको बताए ।
मन्त्रालयले पाठ्यपुस्तक छपाइ, ढुवानी लगायत कामको प्रगति विवरण दैनिक रूपमा साँझ ७ बजेभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ ।
यसअघि चैत १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाइको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी थिइन् ।




प्रतिक्रिया