काठमाण्डु – औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।
अनलाइन फार्मेसीबाट औषधिको झूटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्ने गरेको पाइएकाले बन्द गर्न निर्देशन दिइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
विभागमा अनलाइन फार्मेसी सञ्चालनका लागि कसैले पनि स्वीकृत नलिएको र सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानूनी रूपमा बिक्रीवितरण गरिएको महानिर्देशक ढकालले बताए ।
औषधि ऐन २०३५ को दफा १९ बमोजिम औषधिको झूटा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानूनी प्रावधान छ ।
‘सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नु पूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्व अनुमति लिनुपर्ने स्पष्ट कानूनी व्यवस्था छ,’ महानिर्देशक ढकालले भने ।
अनलाइन फार्मेसीबाट बिक्रीवितरण गरिएका औषधिको सुरक्षितता, गुणस्तरीयता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने र त्यस्ता अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ । अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ ।




प्रतिक्रिया