काठमाण्डु – गृह मन्त्रालयका सचिवस्तरको निर्णयबाट पदोन्नति भएका नेपाल प्रहरीका १३ अधिकृतलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरिएको छ ।
२०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका ८ जना र प्राविधिकतर्फका ५ जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू शुक्रबार दर्ज्यानी चिह्नद्वारा सुशोभित गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बु, विनोद घिमिरे र प्राविधिक तर्फका कमला लामा रहेका छन् ।
प्राविधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत नारायण ज्ञवाली र सोम प्रसाद पंगेनीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले आर्थिक लोभ, मोह तथा व्यक्तिगत महत्त्वाकांक्षा र स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रहरी अधिकृतको रूपमा थप जिम्मेवार भई खरो रूपमा उत्रिने विश्वास लिइएको बताए ।
पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ–आफ्नो क्षेत्र अन्तर्गत संगठनको सुदृढीकरणका लागि रचनात्मक क्रियाशीलतातर्फ अग्रसर रहन उनले निर्देशन दिए ।
सरूवा, बढुवा लगायतका पद्धति र प्रक्रिया वैज्ञानिक, पारदर्शी तथा न्यायोचित हुनुपर्छ र सोही अनुरूप नेतृत्व तह सदैव चिन्तित भएर अगाडि बढिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘त्यसमा सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट साझा प्रतिबद्धता, सामुहिक साथ र सहयोगको अपेक्षा लिएको छु ।’ आफ्नो पद, जिम्मेवारी र संगठनप्रति जवाफदेही रहँदै संगठनको सुदृढीकरणमा सदैव दत्तचित भएर कार्यसम्पादन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी र काँधमा जिम्मेवारी बोध गरी स्वच्छ तथा व्यावसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति थियो ।





प्रतिक्रिया