काठमाण्डु – सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा डोल्पामा नेपाली सेनाका ४ सैनिक घाइते भएका छन् ।
जिल्लाको ठूलीभेरि नगरपालिका–४ स्थित मष्टा भवानी सामुदायिक वनमा हिजो दिउँसो सल्किएर निभाइसकेको आगो आज सोमबार पुनः लागेपछि निभाउने क्रममा सैनिक घाइते भएका हुन् ।
घाइते सैनिकहरू देवीदत्त गण भदालेमा कार्यरत थिए । घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेका संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले बताए ।
सोमबार पुनः आगो सुरु भएपछि सैनिकहरू निभाउन गएका थिए । त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका सैनिक जवानहरू पोलिएका बताइएको छ ।




प्रतिक्रिया