काठमाण्डु- सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले मनसुनजन्य डुबान रोक्न कोसीको ढोका खोल्ने विषयमा नेपाल—भारतबीच समन्वय गर्न जरुरी रहेको बताएका छन् ।
सोमबार गृह मन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरूसँगको छलफलमा महानिरीक्षक अर्यालले सिँचाई, स्वास्थ्य र परराष्ट्र सचिवस्तरीय दुवै देशबीच समन्वय गरी कोसीमा यति क्युसेकभन्दा माथि पानी पुगेपछि कोसीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको सुझाव दिए ।
उनले दुवै देशबीच कोसी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गरे ।
‘सिँचाई, स्वास्थ्य र परराष्ट्र सचिवहरूले कोसीमा यति क्युसेक पानी आउँदा यति वटा ढोका खोल्ने भन्ने भनेर दुवै देशका प्रतिनिधि बसेर दुवै पक्ष तत्काल कुराकानी गर्नुपर्छ । त्यसो गरेपछि नेपाल र भारतमा थप क्षति हुँदैन ।’
‘यो समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक छ । हेभी इक्युमेनटहरू भौतिक मन्त्रालयसँग छ भनिन्छ तर सुरक्षा निकायहरुसँग टच नै हुँदैन’, उनले भने ।
अहिलेसम्म दुवै पक्षबीच समन्वय र समझदारी नदेखिएको उल्लेख गर्दै अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको पनि बताए ।
बाढी पहिरो जस्ता जोखिमको उद्वारका लागि हेबी इक्युमेन्टहरू सरकारसँग भएपनि सुरक्षा निकायसँग नजोडिएको बताउँदै उनले हेबी सवारी साधनहरू सुरक्षा निकायलाई दिए उद्वारमा आफैँ सवारी चालक राखेर सञ्चालन गर्ने पनि बताए ।
प्रत्येक जिल्लामा कम्तिमा दुई दिनलाई पुग्ने खाद्यान्न लगायतका वस्तुहरु मौज्दात राख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिदै उनले भने, ‘सुरक्षा निकायले तत्काल काम गर्नुपर्ने हुन्छ तर मन्त्रालयको आदेश लगायत समन्वय बिना काम गर्न समस्या हुन्छ ।’




प्रतिक्रिया