काठमाण्डु– भारतले नेपाललाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग गरेको बताएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भारत भ्रमण सम्पन्न गरी काठमाण्डु फर्किएपछि पत्रकार सम्मेलन गर्दै भारतीय विदेश मन्त्रालयले यस्तो बताएको हो ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणका क्रममा नेपाललाई भारतले अहिलेसम्मकै ठूलो वित्तीय सहयोग उपलब्ध गराउने घोषणा गरेको र दुवै देशबीच पहिलोपटक दीर्घकालीन ‘भिजन डकुमेन्ट’ तयार गरिएको जानकारी दिए । यसले आगामी वर्षहरूमा दुई देशबीचको सहकार्यका लागि मार्गचित्रको काम गर्ने उनको भनाइ छ।
भारतले ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र वालेन्द्रले ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा दृष्टिकोण अघि सारेका छन्। यसअन्तर्गत आर्थिक तथा विकास साझेदारी, पूर्वाधार, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने सहमति भएको मिस्रीले जानकारी दिए ।
त्यस्तै, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने सहमति भएको छ।
२ देशबीच काठमाण्डु–भैरहवा–लखनउबीच सञ्चालनमा रहेको एकतर्फी बी३४५ हवाई रुटलाई दुईतर्फी बनाउने लगायतका २४ बुँदे सहमति भएका छन् ।




प्रतिक्रिया