काठमाण्डु- पत्रकार गजेन्द्र बुढाथोकीले पोखरा विमानस्थल निर्माण गर्न सरकारले चीनसँग २ प्रशिशत मात्र व्याजदरमा ऋण लिएको भनिएकोमा उक्त व्याजदर ५ प्रतिशत उल्लेख भएको विषय सामाजिक सञ्जालमा राखेपछि नेपालका लागि चिनियाँ राजदूतले भद्दा प्रतिक्रिया दिएका छन् ।
चिनियाँ राजदूत छन् सङले दिएको प्रतिक्रियाप्रति थुप्रै नेपालीले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल एक्समा टक्सार मासिकका प्रधान सम्पादक बुढाथोकीले लेखेका छन, ‘पोखरा विमानस्थलका लागि लिइएको ऋण २ प्रतिशत व्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ ।’
लगतै चिनिया राजद्रत सङले प्रतिक्रिया दिदै लेखे, ‘यदि तिमीसँग दस्तावेज छ भने सार्वजनिक गर । होइन भने प्रमाण देखाऊ । यो कस्तो खालको नियत हो ? पहिला झुट फैलाउनुस्, त्यसपछि तरंग कम हुन पर्खनुस् अनि फेरि फैलाउनुस् ।’
त्यसपछि पत्रकार बुढाथोकी फेरि लेख्छन्, ‘मलाई नधम्क्याउनुस्, आफनो दायरा बुझनुस्, मसँग नेपाल सरकारको प्रमाण नै छ ।’ राजदूत सङ यतिकैमा रोकिदैनन् र जबाफ फर्काउँछन्, ‘तिमीले माफी माग्नु पर्छ ।’
राजदूत सङको यसप्रकारको भनाइ र प्रतिक्रियाबाट धेरै नेपाली रुष्ट भएका छन् । पूर्वराजदूत तथा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्य लेख्छन्, ‘सामाजिक सञ्जालमा पोष्ट गरिएको विषयमा विदेशी राजदूतले पत्रकारसँग माफी माग्नु अनौठो हो । उसले खण्डन गर्न वा सरकारलाई स्पष्टीकरण गर्न सोध्न सक्छ । परराष्ट्र मन्त्रालयले राजदूतलाई ‘सार्वजनिक कूटनीति’को सीमा र प्रत्यक्ष संलग्नताको जोखिम सम्झाउनु पर्छ ।’
यस्तै, शिवम असगरुवा भन्छन्, ‘ चिनियाँ राजदूतले जसरी भारतीय राजदूतले पत्रकारलाई थर्काएको भए यतिबेलासम्म आगो बलिसक्थ्यो, चिनियाँ भनेका त कथित असल छिमेकी’ हुन् क्यारे, यसलाई असल नियतका रूपमा परिभाषित गर्ने ढोँगीहरूको कमी छैन देशमा !’
पोखरा विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट आरएमबी १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ । उक्त ऋण मध्ये २ करोड १० लाख रुपैयाँ सावाँ फिर्ता भई १९ अर्ब ३० करोड ४३ लाख रुपैयाँ बाँकी छ । सरकारको यो विवरणले ५ प्रतिशत ब्याजदरमा ऋण लिइएको देखिए पनि २ प्रतिशत दरमा मात्र लिइएको भनिएको छ ।
सरकारको यो दस्तावेजलाई संकेत गर्दै सञ्जीव सत्गैया लेख्छन्, ‘ राजदूतले यसरी प्रतिक्रिया दिनुपर्ने आवश्यकता छैन ।’
चिनियाँ राजदूत छन् यसअघि समेत आफ्नो विवादित अभिव्यक्तिका कारण विवादमा आएका थिए । उनलाई परराष्ट्रमन्त्रालयले बोलाएर स्पष्टिकरण लिनुपर्ने आवाज समेत सामाजिक सञ्जालमा उठेको छ ।




प्रतिक्रिया