काठमाण्डु – सत्तारुढ दल नेकपा एमालेका दुई प्रभावशाली नेतासहितको टोली चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा एमाले उपमहासचिव विष्णु रिमाल र नेतृ अञ्जान शाक्यको नेतृत्वमा जम्बो टोली चीन भ्रमणमा जान लागेको हो ।
एमाले उपमहासचिव रिमालको नेतृत्वमा ३० जनाको टोली जुन अन्तिम साता र शाक्य नेतृत्वमा अर्को टोली जुन तेस्रो साता चीन जान लागेको एमाले विदेश विभागका सदस्य गोपाल खनालले बताए ।
रिमाल नेतृत्वको टोलीमा एमाले नेताहरू मात्र सहभागी हुनेछन् भने राष्ट्रिय सभा सदस्य समेत रहेकी शाक्यको नेतृत्वमा जाने टोलीमा एमालेका ७, माओवादी केन्द्रका ६, एकीककृत समाजवादीका ६ र जसपा नेपालका ६ जना सहभागी हुनेछन् । उनीहरू राजधानी वेइजिङलगायत चीनका विभिन्न शहरमा जाने कार्यक्रम छ ।
शाक्य एमालेको विदेश विभागको सचिव समेत हुन् । उनलाई भावी परराष्ट्रमन्त्रीका रूपमासमेत हेरिएको छ । रिमाल यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत भइसकेका एमालेका नेता हुन् । दुवै नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट छन् ।
नेपालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार बनेसँगै नेपालका कम्युनिष्ट पार्टीका नेताहरूको चीन भ्रमण बाक्लिएको छ । यसअघि एमाले महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा एक प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो ।




प्रतिक्रिया