काठमाण्डु – सरकारले ११ देशका राजदूत फिर्ता बोलाएर नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धनका बेला नियुक्त भएका राजदूत फिर्ता बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अब नेकपा एमालेसँगको सहकार्यमा नयाँ राजदूत नियुक्त गर्ने भएको छ । परराष्ट्र मन्त्रालयको राजदूत नियुक्तिको आवश्यक तयारी गरिरहेको छ ।
मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ राजदूतलाई फिर्ता बोलाएको छ । यी देशमा राजदूत रिक्त रहेकाले छिट्टै नयाँ नियुक्त गरिनेछ ।
राजदूत नियुक्तिको विषय सत्ता गठबन्धनमा छलफल भई टुंगो लाग्नेछ । यसअघि नै नियुक्त भएका राजदूतमा नेकपा माओवादी केन्द्र निकटका कायमै रहेकाले अब नियुक्ति हुनेमा एमाले निकटका राजदूत बढी हुने सरकारका एक मन्त्रीले जानकारी दिए ।
राजदूत बन्ने दौडमा एमाले तर्फबाट दावाफुटी शेर्पा, अर्जुन कार्की, युवराज खतिवडा, गोपाल खनाल, लक्की शेर्पा र लोकदर्शन रेग्मी तथा माओवादी तर्फबाट युवनाथ लम्साल र लिलामणी पौडेलहरू रहेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी पनि राजदूत बन्ने दौडधूपमा रहेका जनाइएको छ ।
स्रोतका अनुसार अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा र भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको सम्भावना रहेको छ । यसअघि गठबन्धन फेरिँदा फिर्ता बोलाइएका राजदूतलाई पुरानै देश पठाउने गरी पनि छलफल भइरहेको जनाइएको छ ।




प्रतिक्रिया