प्रहरीका १० जना अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका १० जना अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको मंगलबारको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना तथा गृह मन्त्रालय (सचिवस्तर) को मंगलबारको निर्णयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना र गृह मन्त्रालय (सचिवस्तर) को बुधबारको निर्णयले प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरूङ, प्रहरी उपरीक्षकहरूमा प्रदिप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोईराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहेका छन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्वास र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिह्नको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिए । संगठनलाई केन्द्रमा राखेर संगठनको बृहत्तर हितका लागि आग्रह पूर्वाग्रहभन्दा माथि उठेर गरिएको सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिबद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढीकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्वस्त रहेको उनले बताए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले पदोन्नतिसँग प्राप्त जिम्मेवारी एवं उत्तरदायित्वलाई उच्च व्यावसायिकता, नैतिकता र निष्ठापूर्वक सेवा भावका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।