यो वर्ष रासायनिक मलको अभाव नहुने सरकारको दाबी

यो वर्ष रासायनिक मलको अभाव नहुने सरकारको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बिहीबार प्रतिनिधि सभाको बैठकमा अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दुत रहेको बताइन् ।

मन्त्री साहले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने जानकारी दिँदै मलको आवश्यकता पूरा हुने बताइन् । उनले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

प्रतिनिधिसभामा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री साहले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने जानकारी दिइन् । अब मल आपूर्तिमा समस्या नहुने दाबी उनको थियो ।

मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आहृवान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको बताइन् ।

उनले युरियामा १७ प्रतिशत र डिएपीमा ५५ प्रतिशत र पोटासमा ४७ प्रतिशत औसत अनुदान उपलब्ध गराउँदै आएको बताइन् ।