काठमाण्डु – नेपाली सैनिक वार कलेजमा गत फागुन १८ गतेबाट सञ्चालन भएको सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा सम्पूर्ण शिक्षार्थी अधिकृतलाई बधाई दिए ।
उनले राष्ट्रको भूरणनैतिक अवस्थिति, भूमण्डलीकरण र अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारक तत्त्वहरूका कारण विकसित समसामयिक जटिल सुरक्षा वातावरणमा आफूलाई प्राप्त सैनिक जिम्मेवारी पेसेवर ढंगबाट सम्पन्न गर्नका लागि उच्च तहका सैनिक कमाण्डर तथा स्टाफहरूलाई आवश्यक पर्ने विशिष्ट ज्ञान, सीप र मनोवृत्तिको विकास गर्न तालिमको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडि व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता ‘चेन अफ कमाण्ड’ अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन दिए ।
प्रधानसेनापतिले भविष्यमा विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली सेनाको प्रतिनिधित्व गरी संगठनको व्यावसायिक क्षमता र विश्वव्यापी छविलाई कायम राख्दै आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्न/गराउन शिक्षार्थी अधिकृतहरूलाई निर्देशन दिए ।
बलाधिकृत रथी अशोकराज सिग्देल, रथीबृन्द तथा अधिकृत लगायत शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी सागरबहादुर थापाले स्वागत मन्तव्य राख्दै तालिमबारे जानकारी गराएका थिए ।
प्राविधिक तथा विविध सेवाका ८ जना र साधारण सेवाका २७ जना गरी ३५ जना (महिला ३ र पुरुष ३२) महासेनानी दर्जाका शिक्षार्थीहरूको तालिममा सहभागिता रहेको थियो । महासेनानी सुरज लामिछाने समग्रमा तालिममा प्रथम हुनुका साथै उनले ‘बेस्ट एकेडेमिक राइटिङ अवार्ड’ समेत प्राप्त गरेका छन् ।
महासेनानी खेमराज शर्मा व्यक्तिगत शोधपत्रमा प्रथम भएका छन् ।
नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम विक्रम संवत् २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।






प्रतिक्रिया