राजदूत नियुक्तिमा प्रचण्डपथ :माओवादीको कोटामा कांग्रेस–एमाले निकटलाई नियुक्ति

राजदूत नियुक्तिमा प्रचण्डपथ :माओवादीको कोटामा कांग्रेस–एमाले निकटलाई नियुक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हालै मन्त्रिपरिषद् बैठकले नेपाली कांग्रेस निकट रहेका गोरखाका डा. बिजन पन्तलाई बेलायतको नेपाली राजदूतमा सिफारिस गरेको विषय चर्चामा छ । कांग्रेस सत्तामा नरहेको बेला नेकपा माओवादी केन्द्रको कोटाबाट पन्त राजदूत सिफारिस भएका चर्चा झनै रोचक छ ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग व्यक्तिगत निकटता रहेका कारण पन्तले राजदूतको नियुक्ति पाएको बताइन्छ । तर, माओवादीको कोटामा कांग्रेस निकटलाई नियुक्ति दिन थालिएपछि माओवादीभित्र असन्तुष्टि देखिएको छ । यद्यपी माओवादीमा भने यसबारेमा नेतृत्व तहबाट सार्वजनिक रुपमा कुनै असन्तुष्टि भने प्रकट भएको छैन् ।

माओवादीको युवा संगठन वाइसीएल नेपालका केन्द्रीय सचिव नवराज ऐरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसका सक्रिय राजनीतिज्ञ तथा सुशील कोइराला प्रधानमन्त्री भएका बखत सल्लाहकार समेत रहेका गोरखाका बिजन पन्त कुनै दिन जनयुद्धकालमा माओवादीको सुराकी गरेबापत रेडलिष्टमा परेर विदेश भागेका व्यक्ति आज माओवादीको हिस्सामा परेको एक मात्र बेलायतको राजदूत नियुक्तिमा सिफारिस भएका छन् । उहाँ पछिल्लो समय पनि सरकारको कटु आलोचक समेत हुन् । हाम्रो सरकारले पन्तलाई भन्दा गोरखाका नेता लेखनाथ न्यौपाने दाइलाई सम्झेको भए आमकार्यकर्तामाझ कमसेकम आशाको त्यान्द्रो त जीवित रहन्थ्यो कि ?’

राजदूत सिफारिस भएका पन्तले लामो समय बेलायतमै रहेर अक्सफोर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास विभागको गरीबी र विकास कार्यक्रमको दक्षिण एसियाका प्रमुख भई काम गरेका छन् । डा. पन्त २०७२ सालमा कांग्रेस–एमालेको संयुक्त सरकारका प्रधानमन्त्री सुशील कोइरालाको विकास र सामाजिक क्षेत्र सल्लाहकार नियुक्त भएका थिए । विदेशमा बसेका र कांग्रेसको नियुक्ति खाएका पन्त माओवादीको कोटामा राजदूत कसरी सिफारिस भए ?

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड सत्तामा पुगेपछि पन्तले व्यक्तिगत सम्बन्ध बनाएका छन् । पन्तले बेलायतमा प्रधानमन्त्री प्रचण्डका नाति–नातिनालाई पढाइको प्रबन्ध मिलाएको बताइन्छ । प्रचण्ड गोरखाबाट चुनाव लड्दा पनि पन्तले आर्थिक सहयोग गरेको चर्चा समेत माओवादीभित्र छ । उनी कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको ज्वाइँ र कांग्रेस नेत्री कमला पन्तका भाइ हुन् ।

प्रचण्डलाई पैसा दिनसक्ने र नाति–नातिनालाई पढाइदिनेले नियुक्ति पाउने हो भने पार्टीमा समय खर्चिनुभन्दा पैसा कमाउनतिर लाग्नुपर्ने चर्चा समेत हुन थालेको छ । पन्तलाई राजदूत नियुक्त गर्ने निर्णयको परराष्ट्रमन्त्री समेत रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने विरोध गरेको समाचार आएको छ । उनले बेलायतको पिआर समेत भएको आशंका गरिएका पन्तलाई राजदूत नियुक्त नगरौं भन्दा प्रधानमन्त्रीसंग विवाद नै भएको बताइन्छ ।

माओवादीको कोटाबाट राजदूत सिफारिस गर्नुअघि प्रचण्डले पार्टीमा पनि छलफल नगरेको गुनासो छ । ‘पार्टीमा प्रचण्डको एकल रगजग छ, कसैसँग सल्लाह र छलफल नगरी उहाँलाई राजदूत सिफारिस गर्नुभयो । कम्तीमा पदाधिकारीसम्म छलफल गरेको भए निर्णय संस्थागत हुन्थ्यो,’ एक पदाधिकारीले नाम नखुलाउने शर्तमा भने ।

प्रधानमन्त्री प्रचण्डले यसपालि मात्रै होइन, विगतदेखि नै राजदूत नियुक्तिमा माओवादी कोटामा कांग्रेस–एमालेलाई अवसर दिँदै आएका छन् । माओवादीबाट राजदूतको नियुक्ति खाएका अधिकांश व्यक्तिहरू न माओवादीमा थिए, न माओवादी रहे भन्ने अवस्था छ ।

२०६४ भदौ ८ गते अस्ट्रेलियाका लागि नेपाली राजदूत सिफारिस भएका योगेन्द्र ढकाल (अजय शर्मा) अहिले माओवादीमा छैनन् । माओवादी भर्खर शान्ति प्रक्रियामा आएका बेला सशस्त्र द्वन्द्व नलडेको व्यक्ति राजदूत सिफारिस हुँदा पार्टीभित्र हलचल मच्चिएको थियो तर प्रचण्डले त्यसलाई बेवास्ता गरे । उनी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका बहिनीज्वाइँ हुन् । राजदूत खाएर माओवादी विभाजन हुँदा उनी मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादीमा लागे । केही वर्षपछि उनी फेरि मसालमा फर्किएर बुद्धिजीवी संगठनको महासचिव बने । ढकाल २०७८ माघ २८ गते नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी पृष्ठभूमि नभए पनि २०६८ सालमा माया शर्मा माओवादीको कोटाबाट कतारको राजदूत बनिन् । कृषि विकास बैंककी कर्मचारी शर्मालाई माओवादीले राजदूत बनाएको थियो । राजदूत हुँदै ‘कतार खुला जेल हो’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परिन् । उनको त्यो अभिव्यक्तिले नेपाल–कतार सम्बन्ध नै खल्बलिने देखिएपछि सरकारले उनलाई फिर्ता बोलायो । उनले पूरै कार्यकाल राजदूत हुन पाइनन् । त्यसयता उनी माओवादीको सम्पर्कमा नरहेको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले समर्थक डा. ऋषि अधिकारीलाई परराष्ट्र सल्लाहकारदेखि मलेसियाको राजदूतसम्मको नियुक्ति दिएका छन् । उनले माओवादीबाट पटक–पटक लाभको पद पाए पनि हाल माओवादीमा त्यति सक्रिय छैनन् ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापक हुंदै विभिन्न गैरसरकारी संस्थामा काम गरेका विजयकान्त कर्णलाई माओवादीले डेनमार्कका लागि नेपाली राजदूत बनायो । तर उनी न राजदूत हुनुअघि माओवादी थिए, न राजदूत भइसकेपछि माओवादीमा रहे । माओवादीको कोटाबाट डेनमार्कमा राजदूत भएर फर्केका कर्ण त्यसपछि मधेश केन्द्रित दलसँग निकट रहेको बताइन्छ । उनी सार्वजनिक रूपमै माओवादीको आलोचना गर्न पछि पर्दैनन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनका महेश दाहाललाई अस्ट्रेलियाका लागि नेपाली राजदूत बनाए । माओवादीको कोटाबाट उनी राजदूत भए पनि उनी चितवनमा कांग्रेसको सक्रिय कार्यकर्ता हुन् । जेसिसका पूर्व अध्यक्ष समेत रहेका महेश प्रचण्डको काकाका छोरा अर्थात् भाइ हुन् । उनी हाल पनि कांग्रेसका राजनीतिमा सक्रिय छन् । दाहालको अहिले प्रधानमन्त्री दाहालसंग समेत सुमधुर सम्बन्ध नभएको बताइन्छ ।

माओवादी कोटाबाट २०७३ बैशाखमा अस्ट्रेलियाका लागि नेपाली राजदूत सिफारिस भएकी लक्की शेर्पा पनि हाल माओवादीमा सक्रिय छैनन् । माओवादीभित्र राजदूत हुने क्षमता भएका धेरै महिला भए पनि अध्यक्ष प्रचण्डको रोजाइमा उनी नै परिन् ।

उनी पहिलो संविधान सभापछि नेता रामचन्द्र झासँगै एमाले छाडेर माओवादीमा प्रवेश गरेकी थिइन् । त्यतिबेला प्रचण्डले उनलाई सामानुपातिक सूचीमा पनि राखेका थिए तर दोस्रो संविधान सभामा माओवादीको सिट कम आएकाले लक्की सांसद बन्न सकिनन् । सांसद बन्न नपाए पनि प्रचण्डले उनलाई राजदूत बनाए । अस्ट्रेलियामा रहँदा विभिन्न विवादमा मुछिएकाले उनको कार्यकाल सुखद रहेन ।

शेर्पाका पूर्व सवारी चालक एवं भान्छे वाङ्छु शेर्पाले उनका श्रीमान् न्वाङ सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएपछि राजदूत पनि विवादमा परिन् । यही प्रकरणमा सरकारले उनलाई फिर्ता बोलाएको थियो ।

२०६४ सालमा एमालेबाट समानुपातिक सभासद् बनेकी उनी माओवादीबाट राजदूत बनेपछि २०७८ बैशाख ९ गते पुनः एमालेमै फर्किएकी छन् । लक्कीको माओवादीसँगको सम्बन्ध राजदूत नियुक्तिमै सीमित रह्यो ।

प्रधानमन्त्री प्रचण्ड र माओवादी नेता कृष्णबहादुर महराको जोडबलमा राजदूत भएका पत्रकार युवनाथ लम्सालले २०७४ सालमा डेनमार्कको राजदूत बन्ने मौका पाए । उनी राजदूत नियुक्त हुनुअघि राइजिङ नेपालको सम्पादक थिए । उनी हाल माओवादीको विदेश विभागको सम्पर्कमा रहे पनि पार्टीका नियमित गतिविधिमा सक्रिय देखिँदैनन् ।