काठमाण्डु– औषधि व्यवस्था विभागले औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर अनिवार्य सुनिश्चित गर्न निर्देशन दिएको छ ।
औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मान्यताप्राप्त फार्माकोपियाले तोकेको मापदण्डअनुसारको स्पिरिट मात्र प्रयोग गर्न विभागले औषधि उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको हो ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार भारतीय, ब्रिटिस तथा अमेरिकी फार्माकोपियामा निर्धारित मापदण्ड पूरा गरेको स्पिरिट मात्र प्रयोग गर्नुपर्नेछ । यो व्यवस्था सूचना प्रकाशित भएको ३५ दिनपछि अनिवार्य लागू हुनेछ ।
यसैबीच, विभागले बजारमा अभाव देखिएको सिस्प्लाटिन, कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसन सहज उपलब्ध गराउने फर्म तथा वितरकको विवरण सार्वजनिक गरेको छ । साथै, औषधिको मौज्दात, प्राप्ति र वितरणको अभिलेख अद्यावधिक राख्न आयातकर्तालाई आग्रह गरेको छ ।
दसैँपछि प्राविधिक स्तरोन्नतिका कारण अवरुद्ध विभागको अनलाइन सेवा पनि आजदेखि नियमित सञ्चालनमा आउने विभागले जनाएको छ ।




प्रतिक्रिया