काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकमा नयाँ सरकार गठनका लागि कांग्रेसँग भएको सहमतिबारे ब्रिफिङ गरेका छन् ।
बुधबार च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि कांग्रेसँग भएको सहमतिबारे ब्रिफिङ गरेका हुन् । अस्थिरता निम्त्याउने र बार्गेनिङ गर्नेलाई रोक्नको लागि कांग्रेसँग नयाँ सरकार गठनका लागि नेकपा एमालेले सहमति गरेको बताए ।
प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उनले दाबी गरे ।
उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताए। राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति संशोधनमा आवश्यक संशोधन हुने ओलीको भनाइ छ ।
‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो । विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले करप्शनमा, अस्थिरतामा यस्तोमा जाने काम भयो । स्वार्थमा काम गर्ने । स्वार्थलाई अग्र भागमा राख्ने यस प्रकारका कामहरु देखिएका छन् । यसलाई कसरी रोक्ने?,’ अध्यक्ष ओलीले भने ।




प्रतिक्रिया