काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण नहुने बताएका छन्।
मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच तनाव बढिरहेका बेला ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै ‘आज आक्रमण हुनेछैन’ भनेका हुन्।
ट्रम्पको घोषणाले तत्काल सैन्य कारबाहीको सम्भावना टरेको संकेत दिए पनि यसले दीर्घकालीन तनाव अन्त्य हुने निश्चितता भने दिएको छैन।
यसैबीच क्षेत्रीय तनाव कम गर्न कतारका मध्यस्थकर्ताहरू तेहरान पुगेका छन्। उनीहरूले अमेरिका र इरानबीच समन्वयमा भइरहेको कूटनीतिक प्रयासलाई अघि बढाउने अपेक्षा गरिएको छ।
कतारको पहल
मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने अमेरिकी समन्वयमा भइरहेको प्रयासअन्तर्गत कतारका मध्यस्थकर्ताहरू इरान पुगेका हुन्।
मध्यपूर्व मामिलासम्बन्धी परिषद्मा आबद्ध विज्ञ शेखा अलानुद हमद साउद अल थानीले कतारी भ्रमणलाई नियमित कूटनीतिक आदानप्रदानका रूपमा व्याख्या गरेकी छन्।
उनका अनुसार यो भ्रमण पछिल्लो तनावको प्रतिक्रियामात्रै नभई कतारको नियमित मध्यस्थता प्रयासको हिस्सा पनि हुन सक्छ।
अल जजिरासँग कुरा गर्दै उनले तनाव कम गर्न ठूलो प्रयास हुने भए पनि कतारले अमेरिका र इरानलाई आफ्नो इच्छाअनुसार निर्णय गराउन नसक्ने बताइन्। उनका अनुसार द्वन्द्व रोक्न दुवै पक्षको सहमति आवश्यक छ।
उनले इजरायलले भने आफ्नै निर्णयमा थप सैन्य कारबाही गर्न सक्ने जोखिम औँल्याइन्। इजरायलमा हुन लागेको निर्वाचनलाई प्रभावित पार्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारका केही पक्षले फेरि द्वन्द्व चर्काउन सक्ने उनको आशंका छ।
उनले वासिङ्टनले तत्काल युद्धमा फर्कन नचाहेको आफूलाई लागेको बताउँदै दुवै पक्षले अर्को पक्षले पहिले आक्रमण गर्न लागेको ठानेमा त्यही आशंकाले पनि द्वन्द्व पुनः सुरु हुन सक्ने चेतावनी दिइन्।
इरानको चेतावनी : आक्रमणले परिणाम बदल्दैन
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायलले पुनः आक्रमण गरे पनि विगतका आक्रमणभन्दा फरक परिणाम नआउने बताएका छन्।
उनको भनाइले तेहरानले सैन्य दबाबबीच पनि आफ्नो अडान नछाड्ने संकेत गर्छ। अमेरिका र इजरायलले सम्भावित सैन्य विकल्पबारे विचार गरिरहेको अवस्थामा इरानले पनि त्यसको प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ।
होर्मुज हुँदै ३ हजारभन्दा बढी व्यावसायिक जहाज
अमेरिकी सेनाको केन्द्रीय कमान्ड ९सेन्टकम० का अनुसार पछिल्लो ६ महिनामा अमेरिकी सेनाको सहयोगमा ३ हजारभन्दा बढी व्यावसायिक जहाज होर्मुज जलडमरु पार गरेका छन्।
विश्वको ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने यस जलमार्गमा तनाव बढ्दा अन्तर्राष्ट्रिय व्यापार र तेल आपूर्तिमा असर पर्न सक्छ।
त्यसैले यहाँ व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्नु अमेरिकाका लागि रणनीतिक महत्त्वको विषय बनेको छ।
गाजामा आठ प्यालेस्टिनीको मृत्यु
यसैबीच इजरायली सेनाको कारबाहीमा गाजामा कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारका क्षेत्रमा कडा सुरक्षा नियन्त्रण लागू गर्नुका साथै हेब्रोन सहरमा छापा मारेको समाचारमा उल्लेख छ।
मध्यपूर्वमा सैन्य तनावसँगै प्यालेस्टिनी क्षेत्रमा जारी हिंसाले पनि क्षेत्रीय अस्थिरता थप बढाएको छ।
साउदीमा क्षेप्यास्त्रका टुक्रा लागेर दुईजना घाइते
साउदी अरबको नागरिक सुरक्षा निकायका अनुसार खमिस मुशैत र अहद रफिदाह क्षेत्रमा क्षेप्यास्त्र रोक्ने गर्ने क्रममा खसेका टुक्रा लागेर कम्तीमा दुई जना घाइते भएका छन्।


प्रतिक्रिया