काठमाण्डु – फ्रान्सेली स्टार किलियन एमबाप्पेको २ गोल मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगाको चर्चित प्रतिस्पर्धा एल क्लासिकोमा बार्सिलोनालाई पराजित गरेको छ।
बार्सिलोनाको घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा एमबाप्पे निर्णायक बने।
उनले रियलका लागि आफ्नो १००औँ गोलसमेत पूरा गरे। ईएसपीएनका अनुसार बार्सिलोनाले यस सिजन ला लिगामा लगातार जित निकालिरहेको अवस्थामा रियलसँगको हारले उपाधि दौडमा उसको अग्रता कायम राख्ने अवसर गुमेको छ।
एमबाप्पेको गति र बार्सिलोनाको अगाडि बढेर खेल्ने रक्षात्मक रणनीतिबीचको अन्तर खेलमा स्पष्ट देखिएको थियो। बार्सिलोनाको उच्च रक्षापंक्तिको फाइदा उठाउँदै रियलले पटक(पटक गोलका अवसर सिर्जना गरेको थियो।
यान डियोमाण्डेको क्रस क्लियर गर्ने क्रममा बार्सिलोनाका जेरार्ड मार्टिनबाट बल एमबाप्पेलाई लागेर गोल भएको थियो। यससँगै रियलले पहिलो हाफमा अग्रता लियो।
तर उता दोस्रो हाफमा बार्साले खेलमा फर्किने प्रयास गर्यो। पेड्रीको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। त्यसपछि दुवै टोलीले निर्णायक गोलको प्रयास गरे।
खेलको ८७औँ मिनेटमा एमबाप्पेले निर्णायक गोल गरे। जुड बेलिङ्घमको उत्कृष्ट मुभपछि एडुआर्डो कामाभिङ्गाले उपलब्ध गराएको पासमा एमबाप्पेले गोल गर्दै रियललाई २–१ को जित दिलाए।
यस जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी तीन अंकमा झारेको छ। बार्सिलोनाले सिजनका सुरुवाती नौ लिग खेल जितेपछि पहिलो घरेलु हार बेहोरेको हो।


प्रतिक्रिया