काठमाण्डु – नेपाली सेनाको प्रधानसेनापति छान्ने प्रक्रिया अर्को साताबाट सुरु हुने भएको छ । सैनिक स्रोतले अर्को साताबाट नयाँ प्रमुख छान्ने प्रक्रिया सुरु हुने जानकारी दिएको छ । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् । सेनामा प्रधानसेनातिबाट अवकाश पाउनु एक महिनाअघि बिदामा बस्ने परम्परा छ । त्यो परम्परा अनुरुप शर्मा साउन २४ गतेबाट बिदामा बस्नुपर्ने हुन्छ ।
सेनाको एक नम्बरमा रहेका बलाधिकृत रथी अशोक सिग्देललाई त्यसअघि नै कामु प्रधानसेनापतिमा सिफारिस गर्ने तयारी शर्माले गरेका छन् । सैनिक नेतृत्वको नियुक्ति प्रक्रिया नजिक हुँदै गर्दा त्यसलाई प्रभावित गर्न स्वार्थ समूह सक्रिय भएपछि सेनाले नेतृत्वको नियुक्ति प्रक्रिया अघि बढाउन लागेको हो । ‘अब सेनामा कतैबाट चलखेल नहोस् भन्ने उद्देश्यले चिफ सावले प्रक्रिया अघि बढाउने तयारी गर्नुभएको छ । सायद अर्को हप्तासम्म भइसक्छ होला,’ सेनाका एक उच्च अधिकारीले काठमाण्डुपाटीसंग भने ।
शर्माले बिदामा बस्नुअघि नै आफ्ना उत्तराधिकारी जर्नेल सिग्देललाई राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई औपचारिक रूपमा परिचय गराउन सुरु गरिसकेका छन् । त्यतिमात्र हैन सेनामा सिग्देलको कोर टिमले काम अघि बढाइसकेको छ । उनको टिममा जर्नेल दीपक बानियाँ, गणेश श्रेष्ठ, पूर्ण खत्री, मानबहादुर महरा, टंक भट्ट, कृष्णदेव भट्ट, अनुपजंग थापा, द्रव्य भण्डारी र महासेनानी राजेश खकुरेल, दीलविक्रम सुब्बालगायत छन् ।
भदौ २४ पछि प्रधानसेनापति बन्ने लाइनमा रहेका सिग्देल अहिले सैनिक मुख्यालयमा सक्रिय भइसकेका छन् । सेनाको महत्वपूर्ण जाहेरीसमेत उनी कहाँ जान थालेको छ । प्रधानसेनापति शर्माले आफ्ना उत्तराधिकारी सिग्देललाई विस्तारै काम हस्तान्तरण गर्न थालेको सैनिक मुख्यालयमा चर्चा छ ।
सेनाको दुई रथीमा सिग्देलसंगै निर्मल थापा छन् । थापा अहिले फोर्स कमाण्डरका रुपमा ‘अनडफ’ मिसनमा कार्यरत छन् । त्यसपछि उपरथी सन्तोषबल्लभ ढकाल र बाबुराम श्रेष्ठ छन् । ढकाल पनि सेनामा चाँडै अवकाश पाउनेमा छन् । प्रधानसेनापति शर्मा अवकाशमा गएसँगै श्रेष्ठ सेनाको तिन तारे जर्नेल बन्नेछन् ।
जर्नेलहरूको सरुवा
सेनामा दुई जर्नेलहरूको सरुवा भएको छ । सेनाको भावी प्रधानसेनापति भनेर चिनिएका हाल सुरक्षा परिषदको सचिवालयमा रहेका उपरथी अनुपजंग थापा हेटौडाको पृतनापतिमा जाने भनेर चर्चा भए पनि अन्तिममा उत्तर पश्चिम पृतना सुर्खेतमा सरुवा भएको छ । सुर्खेतमा रहेका उपरथी कृष्णदेव भट्टको भने व्यवस्था तथा नीति महानिर्देशनालयमा सरुवा भएको छ ।
हेटौडाका पृतनापति प्रदीपजंग केसीको काठमाण्डौं र सम्भारमा रहेका प्रकाश देउजाको हेटौडाको पृतनापतिमा सरुवा हुने भएको छ । उपरथी दीपक बानियांको सम्भार वा डिजीएमटीमा सरुवा हुने चर्चा छ ।




प्रतिक्रिया