काठमाण्डु – सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकालभर काम गर्न दिने अनौपचारिक सहमति भएको छ ।
पछिल्लो समय कुलमानलाई हटाउन लागिएको भनेर ‘र्युमर’ फैलाइएको छ । त्यसपछि कांग्रेस–एमालेका शीर्ष तहका नेताबीच घिसिङलाई कार्यकालभर व्यावसायिक रूपमा काम गर्न दिने विषयमा छलफल भएको हो ।
घिसिङलाई राम्रो काम गर्दागर्दै हटाउने तयारी भयो भनेर हुँदै नभएको हल्ला फैलाउँदै आन्दोलन समेत सुरु भएको छ । शनिबार मात्रै कुलमानलाई हटाउन पाइँदैन भन्दै माइतीघरमा आन्दोलन समेत भएको थियो । आन्दोलन अराजक भएपछि केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
एमाले र कांग्रेसका नेताहरूले घिसिङलाई व्यावसायिक तरिकाले काम गर्नलाई कुनै बाधा अवरोध नहुने वातावरण निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भनेको एक नेताले बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राम्रो काम गर्ने प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई सरकारले अवरोध गरिरहेको धारणा संसद्मा राख्ने र सडकमा पार्टीकै अप्रत्यक्ष संलग्नतामा आन्दोलन गराएर आफ्नो पक्षमा माहोल बनाउन खोजिरहेको छ । तर त्यो सत्य नभएको भन्दै कांग्रेस–एमालेले राम्रो काम गर्दागर्दै कोही हट्न नपर्ने र व्यावसायिक तथा जनताको पक्षमा काम गर्नेलाई सत्तारुढ दलबाट कुनै अवरोध नहुने जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रो काम गर्ने राज्यका जुनसुकै निकायमा रहेका राष्ट्रसेवकलाई सरकारले थप राम्रो गर्न सहयोग गर्ने सार्वजनिक रूपमै बताउँदै आएका छन् । व्यावसायिक र जनपक्षीय काम गर्ने योजना ल्याउनेलाई बजेटको व्यवस्था जसरी पनि गरिने प्रधानमन्त्री ओलीको भनाइ रहँदै आएको छ ।




प्रतिक्रिया