काठमाण्डु – प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका–९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र ईश्वरप्रसादले १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले लाल बहादुरलाई काठमाडौं नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




प्रतिक्रिया