माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाइने

माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताएकी छिन् ।

राष्ट्रिय शिक्षा दिवस–२०८१ मूल समारोह समितिको आजको बैठकलाई सम्बोधन गर्दै उनले सो व्यवस्था कार्यान्वयनका लागि शिक्षासम्बन्धी ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गरीन् ।

मन्त्री भट्टराईले दिवसलाई आआफ्नो तहबाट सप्ताहव्यापी कार्यक्रम तय गरी मनाउन अनुरोध गरीन् । यसैगरी उनले प्रदेशस्तरमा शिक्षा दिवसका कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्न प्रदेश सरकार, मुख्यमन्त्रीको कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गरी पठाउने र प्रदेशका शिक्षा हेर्ने मन्त्रालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्राचार गर्ने बताए ।

दिवसलाई भव्य र सभ्य बनाउने उद्देश्यले सरोकार भएका मन्त्रालय, सङ्घ÷संस्था र अन्य सम्बन्धित निकायसँग आज छलफल गरिएको हो । बैठकमा राष्ट्रिय शिक्षा दिवस मनाउने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भएका कामकारबाही, दिवसका आदर्श वाक्य तय, विभिन्न उपसमिति गठन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आजको बैठकले राष्ट्रिय शिक्षा दिवस मनाउने सन्दर्भमा सम्बन्धित विभिन्न निकाय र तहलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । दिवसको मूल आयोजक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरू, विभिन्न पालिकाका प्रमुख, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसहित एक सय ३० जना विभिन्न सरोकारवाला सङ्घ/संस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन् ।