दोस्रो पटक सर्‍याे अग्नि सापकोटा विरुद्धको फैसला

दोस्रो पटक सर्‍याे अग्नि सापकोटा विरुद्धको फैसला


काठमाण्डु– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला दोस्रो पटक सरेको छ।

संवैधानिक इजलासले बुधवार रहेको निसु सरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो । आज फैसलाका लागि अध्ययन नपुगेको भनि निसु सारिएको हो ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणी दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र मानवअधिकारकर्मी सुशील प्याकुरेलसमेतले २०६८ असार ६ गते रिट दायर गरेका थिए । सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।

उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदातलको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।

संवैधानिक इजलासका अध्यक्ष विश्वम्भर श्रेष्ठको अध्यक्षमा प्रकाशमान सिंह राउत, सपना प्रधान मलल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासबाट निर्णय सुनाइने गरी आज पेशीमा राखिएको थियाे ।