काठमाण्डु – मुख्यसचिव लिलादेवी गड्तौलाले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई नियुक्तिपत्र प्रदान गरेकी छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले मुख्यसचिव गड्तौलाको हातबाट नियुक्तिपत्र बुझेका हुन् ।
गड्तौला आज सेवा निवृत्त हुन लागेकी छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको थियो ।
०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल करिब १५ महिना मुख्यसचिव रहनेछन् ।
सरकारले चौँथो वरियतामा रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् । उनको राजीनामा बिहीबारकै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
अर्याललाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार दिउँसो मुख्यसचिवको तयारी गर्न भनेपछि ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजीनामा बुझाएका थिए ।
मुख्यसचिव बन्ने दौडमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल पनि थिए ।




प्रतिक्रिया