रोजगारी खोज्दै हुनुहुन्छ ? यी हुन् भविष्यका सम्भावित क्षेत्रहरू

रोजगारी खोज्दै हुनुहुन्छ ? यी हुन् भविष्यका सम्भावित क्षेत्रहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अहिले विश्वको श्रमबजार पहिलेभन्दा तीव्र गतिमा बदलिइरहेको छ । आज अस्तित्वमा रहेका अधिकांश कामहरू भविष्यमा हराउनेवाला छन् ।

 वर्ल्ड ईकनोमिक फोरमले हालसालै गरेको एउटा अध्ययनका अनुसार यसमा मूलतः दुई तत्वले फरक पारेका छन्, त्यो हो नयाँनयाँ प्रविधिको जन्म र स्वचालित उपकरणको प्रयोग र हरित अर्थतन्त्र र दिगोपनातर्फको अभियान ।

‘बिग डेटा’, ‘क्लाउड कम्प्यूटिङ’ र ‘आर्टिफिशल इन्टेलिजन्स’ (एआई) जस्ता प्रविधिको क्षेत्रमा देखिएको तीव्र प्रगतिले श्रमबजारमा ठूलो परिवर्तन हुने प्रक्षेपण गरिएको छ ।

यसको राम्रो पक्ष भनेको नयाँ प्रविधिको आगमनले सम्पूर्ण अर्थतन्त्रले गति प्राप्त गर्छ भने केही रोजगारीका क्षेत्र नष्ट हुँदा अरू धेरै सिर्जना पनि भइराखेका हुन्छन् । समग्रमा भन्नुपर्दा व्यावसायिक क्षेत्रमा पनि थोरै स्रोतसाधनले धेरै हासिल गर्न सकिने भएकाले स्वाभाविक रूपमा त्यसको विस्तार समेत हुन्छ ।

वर्ल्ड ईकनोमिक फोरमका अनुसन्धानकर्ताहरू आउँदो पाँच वर्षमा हाल विद्यमान रोजगारीमध्ये लगभग एक चौथाइमा परिवर्तन आउने बताउँछन् ।

त्यसैले तीव्र रूपमा प्रतिस्पर्धात्मक हुँदै गएको श्रमबजारमा सफलता प्राप्त गर्न मानिसले निरन्तर रूपमा नयाँ सीप सिक्ने र आफ्नो क्षमतालाई तिखार्दै लानुपर्ने भएको छ ।

मुख्य सीपहरू

नयाँ श्रमबजारमा प्रतिस्पर्धात्मक क्षमता कायम राखिराख्न सक्षम हुनका निम्ति आवश्यक पर्ने मुख्य सीपहरूमध्ये प्राविधिक साक्षरता एउटा हो ।

यसको मतलब सबैले ‘प्रोग्र्यामिङ ल्याङ्ग्विज’ जान्नुपर्छ वा ‘मशीन लर्निङ’को जटिलतालाई बुझ्नुपर्छ भन्ने होइन ।

तर भविष्यमा ‘एसटीईएम’सम्बन्धी कामको उच्च माग हुने ठानिएको छ । ‘एसटीईएम’ले फरक तर सम्बन्धित प्राविधिक क्षेत्रको समूहलाई बुझाउँछ, जसमा क्रमशः विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित पर्छन् ।

त्यसैले तपाईँ आफ्ना केटाकेटीलाई विद्यालयमा के विषयमा ध्यान दिन लगाउने होला भनेर सोचिरहनुभएको छ भने त्यसको जवाफ यही हो–गणित, कम्प्युटर साइन्स र प्राकृतिक विज्ञान ।

त्यस्तै अर्कै आवश्यक सीप भनेको विश्लेषणात्मक सोचको हो । यसमा सुधार ल्याउन व्यक्तिले आफ्नो सङ्ज्ञानात्मक क्षमतालाई तिखार्नुपर्छ । अर्को शब्दमा भन्दा दिमागलाई तिखो पार्नुपर्छ, प्रवृत्तिहरूलाई ख्याल गर्न, तथ्यहरूबीचको सम्बन्ध केलाउन र भावना वा निजी प्राथमिकताबाट प्रभावित नभईकन निष्कर्ष निकाल्ने क्षमताको विकास गर्नुपर्छ ।

त्यसो गर्न सक्षम हुनका निम्ति तपाईँले स्वयंलाई सतर्क र एकाग्र बनाउन प्रशिक्षित गर्नुपर्छ किनकि मोबाइलसहितका विभिन्न उपकरण, सामाजिक सञ्जाल, अनलाइन खेलहरू तथा विज्ञापनहरूले लगातार हाम्रो ध्यान भड्काउनुका साथै कतै हामी पछि छुट्ने हो कि भन्ने डर पैदा गराइराखेका छन् ।

विश्लेषणात्मक सीपभित्र उत्सुकता र निरन्तरको स्वयंशिक्षा पनि पर्छन् । त्यसमा निरन्तर सुधार ल्याउन र सिक्न तपाईँ आफ्नो लक्ष्यमा केन्द्रित हुन सक्षम हुनुपर्छ ।

उच्च स्तरको अङ्ग्रेजी भाषा सिक्नु पनि हासिल गर्नैपर्ने महत्वपूर्ण दक्षतामध्येको हो । त्यस्तै सिर्जनात्मक हुनु पनि उत्तिकै महत्वपूर्ण छ । विज्ञान, इन्जिनियरिङ, डिजाइन र कलामा प्राविधिक साक्षरतासहितको सिर्जनात्मक क्षमता प्रबन्ध गर्न सक्ने खुबी भएको व्यक्तिले सुनौलो पुरस्कार हासिल गर्ने छ ।

सञ्चार र अन्य व्यक्तिको भावनालाई बुझ्न सक्ने क्षमता पनि एआईको युगमा उच्च महत्व दिइने सीपमध्येको हो ।

यन्त्रउपकरणको जतिसुकै तीव्र विकास भए पनि मानिसलाई जहिल्यै मानिसकै आवश्यकता पर्ने छ । त्यसैले ध्यान दिन सक्ने क्षमता, सामूहिक

कार्य, सुन्ने क्षमता, कथा भन्ने क्षमता, सहयोग तथा सहानुभूतिजस्ता कुराले पनि उत्तिकै महत्व पाउने छन् ।

पेसागत व्यक्तिहरूको सोशल नेट्वर्क प्ल्याटफर्म ‘लिङ्क्डइन’मा सन् २०२० मा प्रकाशित एक प्रतिवेदनका अनुसार सञ्चारसम्बन्धी दक्षता श्रम बजारमा पहिलेदेखि नै अधिक मागमा रहेको सीपमध्येको हो ।

नयाँ प्रविधिहरू

सूचना प्रविधिलगायत नयाँ प्रविधिहरू निकट भविष्यमा निकै फस्टाउने उद्योगहरूमध्येका हुने छन् भन्ने कुरा अब आश्चर्यको विषय रहेन । एआई र मशीन लर्निङमा भएको विकासले आकर्षक अवसरहरूको सिर्जना गर्ने छ ।

आशालाग्दो भविष्य भएको पेसामध्ये ‘प्रोम्प्ट इन्जिनियर’ पनि एउटा हो । यस्ता इन्जिनियरहरू विभिन्न किसिमका एआई मोडेलसँग सञ्चारका लागि विशेषज्ञ हुने छन् र एआईसँग गरिने अनुरोधहरूलाई ठिक तरिकाले तयार पार्ने छन् । प्रोम्प्ट इन्जिनियरले एआई र मानिसहरूबीच मध्यस्थकर्ताको रूपमा काम गर्ने छ ।

नीतिशास्त्रीको काम पनि एआईसँग सम्बन्धित सम्भावना भएको अर्को क्षेत्र हो । नीतिशास्त्रीले नैतिकता, सुरक्षा इन्जिनियरिङ तथा प्रयोगकर्तालाई सुहाउँदो मानव–मशीन अन्तर्क्रिरयाका निम्ति सहज इन्टरफेस बनाउने विषयमा दख्खल राखेको हुन्छ ।

विभिन्न पेसाका मानिसहरूलाई सामान्यतयाः एआईलाई प्रतिस्पर्धीका रूपमा नभई साझेदारका रूपमा लिन र योसँग कसरी व्यवहार गर्ने भने बुझ्न सुझाव दिइन्छ ।

‘बिग डेटा’को विश्लेषण पनि अर्को सम्भावना बोकेको क्षेत्र हो, जसमा नेट्फ्लिक्सदेखि हाड्रन कोलिडरजस्ता विशाल सूचना प्रणाली र नियन्त्रण प्रणाली सामेल छन् ।

सूचनासम्बन्धी संवेदनशीलता व्यापक हुने भएकाले निश्चित रूपमा साइबर सुरक्षामा दख्खल राख्नेहरूलाई कामको कमी हुने छैन ।
त्यस्तै आर्थिक प्रविधिमा दक्ष, व्यवसायसम्बन्धी विश्लेषक र ब्लक्चेन प्रणाली विकास गर्न सक्नेहरूको पनि आवश्यकता पर्ने छ ।

हरित रोजगारी

वर्ल्ड ईकनोमिक फोरमको सन् २०२३ को ‘फ्यूचर अफ जब्स’ प्रतिवेदनका अनुसार विभिन्न क्षेत्र तथा उद्योगहरूमा हरित रोजगारीको माग पनि तीव्र रूपमा बढिरहेको छ ।

‘हरित सङ्क्रमणले सन् २०३० सम्ममा स्वच्छ ऊर्जा, कार्यकुशलता र न्यून उत्सर्जनका क्षेत्रमाविश्व स्तरमा तीन करोड रोजगारीको सिर्जना गर्न सक्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

हाल हरित उर्जाको क्षेत्रमा रोजगारी सिर्जना गर्न पश्चिमा देशहरू अग्रस्थानमा छन् भने जापान र चीन पनि बिस्तारै हाराहारीमा पुग्दै छन् ।

यी रोजगारीहरू व्यवसाय, विज्ञान, राजनीति वा पर्यावरणसँग सम्बन्धित हुन सक्छन् । ती क्षेत्रभित्र यिनले नवीकरणीय ऊर्जा, नयाँ ऊर्जाका स्रोत तथा ब्याटरीहरू, लोपोन्मुख प्रजातिको रक्षा, कानुनी अभ्यास तथा वातावरणीय सुरक्षा कानुनमा परिवर्तनजस्ता व्यावसायिक परामर्शलगायतका विषयमा काम गर्छन् ।

त्यस्तै सहरी योजनाकार, आर्किटेक्ट तथा ’स्मार्ट’ घरहरूको डिजाइन तथा निर्माण गर्नेहरूको पनि उत्तिकै खाँचो पर्ने छ ।

स्वास्थ्यकर्मीहरू

विश्व जनसङख्या पाको हुँदै छ र मानिसहरूको औसत आयु बढ्दै गइरहेको छ । यस्तोमा उपचार र स्याहारको अझै खाँचो पर्ने छ ।

त्यसैले निकट भविष्यमा स्वास्थ्यकर्मीहरूको माग पनि धेरै नै रहने छ । बिरामीलाई औषधिमात्र नभई मनोबलसमेत प्रदान गर्ने स्वस्थ्यकर्मीको महत्व झन् धेरै बढ्ने छ ।

चिकित्सक र स्वास्थ्य विशेषज्ञहरूहरूले रोगको निदान, उपचार र उपचारका नयाँनयाँ विधिबारे निरन्तर रूपमा सिक्नुपर्ने र स्वयंलाई अनुकूल बनाउनुपर्ने हुन्छ । त्यसमा एआईबाट समेत सहयोग प्राप्त हुने छ ।

मनोचिकित्सक, व्यक्तित्व विकासमा सघाउने प्रशिक्षक र आध्यात्मिक साधना सिकाउनेहरूका निम्ति समेत कामको अवसर हुनेछ ।

हातले काम गर्ने श्रमिकहरू

आउने वर्षहरूमा पनि मेकानिक, मर्मतकर्मी, विद्युत्कर्मी तथा निर्माण श्रमिकहरूको पनि आवश्यकता रहने छ ।

विभिन्न परिस्थितमा आवश्यक पर्ने ससाना कार्यका निम्ति मानिस अथवा व्यक्तिको भूमिका अझै अपरिवर्तनीय रहने छ । तर बजारमा आफ्नो माग कायम राखिराख्न वा टिकिरहन यी विशेषज्ञहरूले स्वयंको प्राविधिक ज्ञानलाई निरन्तर तिखार्नुका साथै नयाँ र छरिता विधिहरूमा निपुण भइरहनु पर्नेछ ।

त्यस्तै कृषिमा पनि नयाँनयाँ किसिमका रोजगारीको माग बढ्ने ठानिएको छ । विश्वको जनसङ्ख्या बढ्दै गइरहेको छ र सबैले खानुपर्छ । तथापि यस क्षेत्रमा कृषकहरूको भन्दा क्षमतावान् इन्जिनियरहरूको माग अधिक हुने छ ।

कथावाचन

भविष्यबारे कुरा गर्ने मानिसहरूद्वारा दुर्लभै मात्र चर्चा गरिएको अर्को एउटा पेसाको पनि भविष्यमा निःसन्देह आवश्यकता कायम रहने छ; त्यो हो कथावाचन ।

हजारौँ वर्षअघि जसरी यसको आवश्यकता थियो, त्यसरी नै मानवीय अनुभवलाई प्रसार गर्ने कलात्मक र सिर्जनात्मक कार्यहरूको महत्त्व भोलि पनि उत्तिकै रहने छ ।

लेखक, कवि, निर्देशक, अभिनेता, हास्यकलाकार, कलाकार तथा सङ्गीतकाहरूको आवश्यकता पनि कायम रहने छ, भलै एआईले यी क्षेत्रमा पनि नयाँनयाँ चुनौतीको सिर्जना गर्ने छ । बीबीसीको रिपोर्टमा आधारित