चौथो वरियताका अर्याल मुख्यसचिव भएपछि सिनियर दुई सचिवको राजीनामा

चौथो वरियताका अर्याल मुख्यसचिव भएपछि सिनियर दुई सचिवको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चौथो वरियतामा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई सरकारले मुख्यसचिवमा बढुवा गरेपछि उनीभन्दा सिनियर दुई सचिवले राजीनामा दिएका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।

बिहिबार दिउँसो नै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट गृहसचिव अर्याललाई मुख्यसचिव भएर काम गर्न तयारी अवस्थामा बस्न भनेको जानकारी पाएपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजीनामा बुझाएका थिए । उनी अहिले भएको सचिवहरूमा सबैभन्दा सिनियर थिए । उनको राजीनामा अर्याललाई मुख्यसचिव नियुक्त गर्न बसेको बिहिबार साँझको मन्त्रिपरिषद बैठकले नै स्वीकृत गरिसकेको छ ।

त्यस्तै बिहिबार अर्याल मुख्यसचिव नियुक्त भएपछि शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका छन् । तेस्रो वरियतामा रहेका उनको राजीनामा आएको तर स्वीकृत भइनसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

दोस्रो वरियतामा रहेका सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले भने राजीनामा दिएका छैनन् । नेकपा माओवादी केन्द्र निकट भनेर चिनिएका सुवेदी माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रधानमन्त्री हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए । त्यसबेला माओवादी नेतृ रेखा शर्मा सञ्चारमन्त्री थिइन् ।

मुख्य सचिव रहेकी लिलादेवी गडतौला शुक्रबारदेखि सेवा निवृत्त हुने भएपछि सरकारले बिहीबार अर्याललाई मुख्यसचिवमा बढुवा गरेको थियो ।