गृहसचिव बन्‍न चार सचिवबीच प्रतिष्पर्धा, पुस्करको सम्भावना

गृहसचिव बन्‍न चार सचिवबीच प्रतिष्पर्धा, पुस्करको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त गृहसचिव बन्न चार सचिवले लविइङ तिव्र पारेका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा बढुवा गरेपछि रिक्त गृहसचिव बन्न विनोदप्रकाश सिंह, कृष्णहरि पुस्कर, नारायणप्रसाद शर्मा दुवाडी र दीपक काफ्लेबीच प्रतिष्पर्धा छ ।

सिंह महालेखा नियन्त्रण कार्यालय, पुस्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, दुवाडी राष्ट्रपतिको कार्यालय र काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने भएपछि सबैभन्दा आकर्षक मानिने गृहसचिवमा पुग्न चार सचिवले लविइङ तिव्र पारेका हुन् ।

सुदूरपश्चिमको कञ्चनपुर घर भएका रमेश लेखक गृहमन्त्री छन् । तसर्थ सुदूरपश्चिम नै घर भएका सचिव सिंह र सुदूरपश्चिममा ससुराली भएका पुस्करबीच भौगोलिक निकटता देखाएर गृहमा पुग्‍न चर्को प्रतिष्पर्धा रहेको निकटस्थ स्रोतले बतायो ।

आकांक्षा चार सचिवले देखाए पनि प्रतिष्पर्धा पुस्कर र सिंहबीच रहेको बताइन्छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पुस्करलाई गृहसचिव बनाउने सहमति बनिसकेको पनि स्रोतहरूले दाबी गरेका छन् ।

प्रतिष्पर्धामा रहेका सिंहलाई भने सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाएर पठाउने तयारी भएको बताइन्छ । सस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डे पनि सुदूरपश्चिमको बाजुराका हुन् ।

पुस्करले यसअघि अर्थसचिव भएर र सिंहले गृहसचिव भएर काम गरिसकेका छन् ।

मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएकाले ती दुई स्थानमा पनि सचिव सरुवा गर्नुपर्ने भएकाले आगामी मन्त्रिपरिषद्मा सचिव सरुवाको एजेण्डा निश्चित रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।