पोखरा – नेकपा एमालेका सांसद कृष्णप्रसाद पाठक सोमबार गण्डकी प्रदेश सरकारको स्वास्थ्यमन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आज पाठकलाई स्वास्थमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको बपथ दिलाएका छन् ।
बागलुङको अमलाचौरका पाठक तीनै व्यक्ति हुन्, जसले ११ असारमा गण्डकी प्रदेशसभाको रोष्टममा उभिएर बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिका नै जलाउने चेतावनी दिएका थिए । त्यसबेला पाठकले आफ्ना योजना नपरेको भन्दै कांग्रेस नेतृत्वको सरकारप्रति असन्तोषमात्र व्यक्त गरेका थिए । अहिले तीनै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका छन् ।
पाठकले मुख्यमन्त्री पाण्डेले सबै मन्त्रालय गुट्मुट्याएको भन्दै आपत्ति जनाएका थिए । तीनै पाठक अहिले अहिले ११ जिल्ला अस्पताल, प्रदेशको आफ्नै संक्रामक तथा सरुवा रोग र मातृशिशु गरी १४ वटा अस्पताल, मातहतका ४० भन्दा धेरै कार्यालयहरु र २ अर्बभन्दा धेरै बजेट चलाउने स्वास्थ्य मन्त्रालय सम्हालेका छन् ।
नेकपा एमालेको बागलुङ जिल्ला अध्यक्षमा हिरा केसीसँग पराजित भएका पाठक समानुपातिक सूचीमा खस आर्यतर्फबाट एक नम्बरमा नाम हुँदा सांसद हुने अवसर पाएका हुन् । एमाले गण्डकी प्रदेश समिति निर्वाचनमा अधिकांश पृथ्वीसुब्बा गुरुङ समूहले चुनाव जित्दा पाठक भने खगराज समूहबाट सदस्य जित्ने सीमित व्यक्तिमध्ये एक थिए ।
यसअघि खगराज अधिकारी नेतृत्वकै सरकार बन्दा पनि मन्त्री हुन आकांक्षा देखाएका पाठक यसपटक उनको पहिलो रोजाइमै थिए । पाठकलाई यसपटक मन्त्री बनाउन महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा गण्डकीका संसदीय दलका नेता खगराजले बचन दिएका थिए ।
२०३१ सालमा तत्कालीन नेकपा मसालसँग नजिक बनेका पाठक माओवादी सशस्त्र संघर्षका बेला गाउँबाट विस्थापित भएर बागलुङ बजार झरेका थिए । पाठकलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (माओवादी)ले सफायाको सूचीमा राखेको उनी बताउँछन् ।
२०४१ सालमा नेकपा (मसाल) परित्याग गरेर नेकपा (माले)मा आबद्ध भएका पाठक एमालेको लडाकु दस्ता पिपुल्स भोलिन्टियर्सको संस्थापक केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य र बागलुङ अध्यक्ष भएर काम गरेका थिए । २०४६ सालमा उनी नेकपा (एमाले) जिल्ला संगठन कमिटी बाग्लुङको संस्थापक सदस्यमा निर्वाचित भए ।
२०६१ सालतिर अमलाचौर गाविसको भवनमा माओवादी सेनाले आफ्नो क्याम्प राख्दा पाठकले विरोध गर्दैै गाउँ नै उठाएर हटाएका थिए । त्यसपछि उनको परिवारलाई माओवादीले गाउँबाट दुःख दिएर विस्तापित गर्न बाध्य बनाएको थियो ।
माओवादीले लखेटेपछि पाठकको परिवार बागलुङ बजार पस्यो । डेथ वारेन्ट जारी भएकाले उनी खुलेआम हिँड्न मिल्ने परिस्थिति थिएन । उनी लुक्दै, पार्टीका कार्यक्रममा सहभागी हुन्थे ।




प्रतिक्रिया