काठमाण्डु-देशका धेरै ठाउँमा वर्षा भएको छ । गएरातिदेखि नै कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको छ । कैलालीको टीकापुर, बलिया, बचिला र आसपास पनि ठूलो पानी परेको छ । बाग्लुङको म्याग्दी खोला, मङ्गलघाट जलमापन केन्द्रमा पानी परेको छ ।
त्यस्तै सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढाप, गोब्रे, बाउनेपाटी, बोल्डे, ढुङ्गे वर्षामापन केन्द्र र आसपासमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पानी पर्ने क्रम निरन्तर रहेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदी तथा हाडी खोला र अन्य स–साना खोलामा बाढीको जोखिम छ ।
जमिन भिजेको अवस्थामा हल्का पानी पर्दा पनि कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने भएकाले त्यस्ता जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लुम्बिनीमा उच्च सतर्कता अपनाउन आग्रह
पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाल्पाको जाल्पा, कुमलगाउँ, गैँडाकोट र आसपास ठूलो वर्षा मापन भएको छ । रुपन्देहीको तिलोत्तमा आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले त्यस क्षेत्र भएर बग्ने तिनाउ नदी र यसका सहायक नदीमा बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई बिहान १० बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै कपिलवस्तुको कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भागमा रहनेलाई बिहान ९ बजेसम्म सतर्कता अपनाउन भनिएको छ ।
यस्तै प्युठानको लुङ्ग्री नदी, खुङ्ग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।




प्रतिक्रिया