आईजिपी अर्याल विवादको घेरामा,प्रहरी मुख्यालयमै चर्को आलोचना


काठमाडौं –  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ । लामा असार ३० गते एआईजी बढुवाको सिफारिसमा परेका थिए । मंगलबार मात्र उनलाई मुख्यालय तानेर डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी खनाललाई महाशाखाको जिम्मेवारी सुम्पिएको छ । उच्च प्रहरी अधिकारीको काज सरुवाबारे पूर्वआईजीपी कुवेरसिंह राना भन्छन्, – बढुवा सिफारिसमा परिसकेको अवस्थामा नियमित प्रक्रियामा सरुवा गरेको भए राम्रो हुन्थ्यो, दबाब आयो भन्दैमा संगठन प्रमुखले गलत सन्देश दिने काम गर्नुहुँदैनथ्यो ।

एसएसपीबाट डीआईजीका लागि बढुवा सिफारिस गर्दा पनि आईजीपी अर्याल विवादको घेराबाट बाहिर रहन सकेनन् । ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेनन् । उनी एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन् । उनकै ब्याचका एक प्रहरी अधिकृत भन्छन्, आईजीपीले यो राम्रो गर्नुभएन, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्थ्यो । एक तह सम्मानस्वरूप बढुवा दिएपछि अर्कोपटक विचार गर्न सकिन्थ्यो । श्रेष्ठलाई अन्तिम अवस्थामा अपमानित गरियो । प्रहरी स्रोतका अनुसार एसएसपी श्रेष्ठलाई बढुवा गर्नुपर्ने आशयसहितको पत्र मन्त्रालयमा पुगेको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक ९एसपी० बढुवा सिफारिसमा पनि आईजीपीको स्वेच्छाचारिताु देखिएको प्रहरी अधिकृत बताउँछन् । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट निलम्वनको सिफारिस गरिएका डीएसपी सञ्जीव शर्मा दासलाई बढुवा सिफारिस गरेपछि अर्याल आलोचित बन्न पुगे । शर्मालाई बढुवाका लागि सिफारिस गरेको सार्वजनिक भएपछि सर्वत्र विरोध भएका कारण गृहमन्त्री शर्माले निलम्बन गर्न निर्देशन दिए ।

क्षेत्रबाट निलम्बन गर्नुपर्ने पत्र, मुख्यालयले गृहमा पनि दासलाई निलम्बन गर्नुपर्ने आशयको पत्र पठाइसके पनि बढुवा सिफारिसमा राखेपछि अर्यालले मन्त्री शर्माको हप्की नै खानुपरेको थियो । मुख्यालयमा भने गृहमन्त्रीनजिक र शक्तिकेन्द्र धाएकाहरूलाई अर्यालले बढुवा सिफारिसमा पारेको चर्चा छ । एसपीबाट एसएसपी, एसएसपीबाट डीआईजी र डीआईजीबाट एआईजी बढुवा सिफारिसमा प्रहरी नेतृत्व चुकेको उनीहरूको भनाइ छ । प्रतिस्पर्धी भए पनि बढुवामा नपरेपछि डीआईजी मधु पुडासैनी, एसएसपी सुवास चौधरी र एसपी विभूतिराज पाण्डेले अन्याय गरिएको भन्दै लोकसेवा आयोगमा उजुरीसमेत दिएका थिए ।

पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन गृहमन्त्री वामदेव गौतम र विमलेन्द्र निधिसँग बढुवा सिफारिस गर्दा खटपट परे पनि प्रहरी अधिकृतको पक्षमा लबिङ गरेका थिए । एसएसपी रमेश खरेललाई नसिहत दिन गौतमले दिएको निर्देशनको अवज्ञा गर्दै उनी राम्रा प्रहरी अधिकृतको वृत्तिविकासमा असर पर्ने खालको निर्णय नगरौुं भन्दै खरेलको पक्षमा उभिएका थिए । निधिले काठमाडौं परिसरमा छविलाल जोशीलाई ल्याउन दबाब दिएका थिए । उपेन्द्रकान्तले अस्वीकार गरेपछि जोशीलाई एकलौटी ढंगले काठमाडौं परिसरमा ल्याउन निधि सफल भएका थिए ।

पूर्वआईजीपीजति पनि अडान अहिलेको आईजीपी साहेबमा छैनु, एक प्रहरी अधिकृत भन्छन्, आईजीपी अर्यालको व्यस्तता अत्यधिक देखिए पनि विवादबाट मुक्त हुन सक्नुभएको छैन । गृह मन्त्रालयबाट एक सहसचिवले फोन गरे भने पनि आईजीपी साहेब आफैं पुग्नुहुन्छ, सचिवालयमा उहाँका सहयोगी राखेको के काम र ?

मुख्यालयका उच्च अधिकृतले संगठन सुदृढीकरणमा अर्यालको अडान नरहेको आरोप लगाए । उहाँले गृहमन्त्रीलाई संगठनको धारणा यो हो भनेर पेस गर्न सक्नुभएको छैनु, ती अधिकृतले भने, – यसरी त संगठनको वृत्तिविकासमा नकारात्मक असर पर्छ । प्रहरी नायब निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गर्नुपर्ने प्रक्रियासमेत अहिले अवरुद्धजस्तै छ । धेरैजसो सई अहिले तत्काल बढुवा नभए अवकाशको मुखमा छन् ।

आईजीपी अर्यालले समकक्षीसँग आफूले राम्रो गर्न खोज्दाखोज्दै मन्त्री शर्माको चेपुवामा परेको बताउन थालेका छन् । प्रहरी अधिकृतले नेता प्रयोग गरी आफूलाई अनावश्यक दबाब दिन नछाडेको गुनासो उनले गर्न थालेका छन् । आईजीपी अर्याल भने आफू विधिसम्मत ढंगले अघि बढिरहेको दाबी गर्छन् । बाहिर जे जति टीकाटिप्पणी भए पनि म विधिसम्मत ढंगले चलेको छुु, उनी भन्छन्, संगठनलाई अझै सुधार्ने पक्षमा छु । यसभन्दा बढी प्रतिक्रिया दिन उनले अस्वीकार गरेका छन् ।

 

यस्ता छन् आईजीपीका कमजोरी
-गृहमन्त्री जनार्दन शर्मासामु निरीह
– बढुवा सिफारिसमा न्याय गर्न असफल
– निलम्वन सिफारिसकालाई पुरस्कार
– शक्तिकेन्द्र धाउनेलाई नै अवसर
– बढुवा सिफारिसविरुद्ध लोकसेवामा उजुरी
– पदीय मर्यादा कायम गर्न नसकेको आरोप
-अत्यधिक व्यस्तता
-संगठन सुदृढीकरणमा कमजोर अडान

 

अन्नपुर्णबाट 

प्रतिक्रिया दिनुहोस
Advertisement