काठमाडौं– भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट भारतले स्वीकार नगर्ने खुलासा गरेका छन्।
शुक्रबार राजधानी काठमाडाैंमा अायाेजित साक्षात्कारमा भाजपा नेता जाेलीले भने, ‘ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफलनै गरिएन् । नागरिक समाज,पत्रकार, राजनीतिकर्मीहरु, शिक्षाकर्मी, विद्यार्थी नेताहरु र उद्योगपतिहरुको तहमा प्रतिवेदन बनाउनेबारे कुनै छलफल गरिएन् । यस्ता सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता छैन् ।’
साक्षात्कारमा बोल्दै उनले आफू ईपीजीका भारत र नेपाल दुवै तर्फका सदस्यहरुको काम गराइबाट पूर्णतः असन्तुष्ट रहेको गुनासो पोखे । जोलीले भने, ‘यो प्रतिवेदन सार्थक छैन र मान्य पनि छैन। प्रबुद्ध समूहबाट जे कुरा अपेक्षा गरिएको थियो, त्यो उनीहरूले पूरा गरेका छैनन्। बन्द कोठाभित्र बसेर बनाइएको प्रतिवेदनले दुई देशको सम्बन्धलाई अघि बढाउन सक्दैन ।’
नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको सुनाए । तर, ईपीजीका सदस्यहरुले आफूसँग प्रतिवेदन तयार पार्दा कुनै छलफल र राय नै नलिएको गुनासो पोखे । उनले भने,‘बन्द कोठाभित्र कुनै एउटा सिद्धान्तको आधारमा रिपोर्ट बनाउँदैमा समस्याको समाधान कसरी हुन्छ ? मसँग उहाँहरुले कुनै छलफल र राय तथा सुझाव लिन पनि आवश्यक सम्झिनुभएन् । कुनै एक सिद्धान्त विशेषमा बनाईएको प्रतिवेदन सार्थक हुँदैन् ।’
पूरा विश्वले नेपाललाई प्यार गरिरहेको सुनाउँदै उनले आफूहरुले पनि नेपाललाई त्यतिकै माया र सम्मान गरिरहेको सुनाए । नेपालीहरु विश्वभरिनै मेहनती, सफल, काम गर्नेवाला, अघि बढ्नेवाला र विकासको पथमा हिँड्नेवाला भनेर चिनिएको भन्दै जोलीले प्रशंसा समेत गरे ।
नेता जोलीले अहिलेपनि भारतीय सेनामा ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै नेपाली गोर्खालीहरुको वीरताको गाथा सुनाए । त्यतिमात्रै नभएर ब्रिटिश सेनामा पनि ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै उनले विश्वभरि नै यसले नेपालको अस्मिता र प्रवुद्धतालाई दर्शाएको विश्वास दिलाए ।
आफू धेरै वर्षदेखि नेपालको राजनीतिक घट्नाक्रमसँग जोडिएको सुनाउँदै जोलीले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार बनेपनि आफ्नो एकमात्र जोड भनेको नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र मजबुद बनाउनु रहेको स्पष्ट पारे । उनले भने,‘म त नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने पक्षधर हुँ । यो सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ । म अहिलेपनि यही काममा लागिरहेको छु।’
मोदी प्रधानमन्त्री बनेको अहिले ५५ महिना भएको उल्लेख गर्दै यो दौरानमा मोदी चार पटक नेपाल भ्रमणमा आएको पनि उनले सुनाए । उनले भने,‘हाम्रो प्रधानमन्त्री मोदीजीले यो दौरानमा चार पटक नेपालको यात्रा गर्नुभएको छ । उहाँले यो भ्रमण गरेर नेपाल र नेपालीप्रति आफ्नो प्रेम, प्यार र सहयोग दर्शाउने कोशिस गर्नुभएको छ ।’ नेपालमा एउटा बम पड्कियो भने यसको महशुस दिल्लीमा पनि हुने उनको भनाई छ ।
नेपालमा संविधान जारी हुँदै गर्दा मधेश आन्दोलन भएको सुनाउँदै त्यसमा भारतलाई मुछ्नु भारतप्रति अन्याय भएको उनको टिप्पणी छ । उनले भने,‘भारतको सहयोगमा आन्दोलन भएको भनेर आरोप लगाईयो, यो भारतप्रति बेईन्साफी थियो । यहाँका पहाडी र मधेशी जनता नेपाली नै हुन्।’




प्रतिक्रिया