काठमाण्डु-कास्की जिल्ला प्रहरीले रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराउँदै छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदन तयारीमा जुटेको छ । कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।
लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने छ ।
सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको संसदीय छानवीन समितिको निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नभएको रविले बयानमा बताएका छन् ।




प्रतिक्रिया