काठमाण्डु –रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराएको छ ।
कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा उनीसहित अन्य तीन जनालाई पनि बिहीवार अण्दालतमा उपस्थित गराएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद बिहिवार नै सकिएको छ । प्रहरीले अदालत खुल्नासाथ सातौ पटक म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।
अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।
त्यस्तै पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिवी राईका साझेदार रामबहादुर खनाल र जिवीसँग जोडिएकी लिला पछाइलाई पनि आज अदालतमा उपस्थित गराइएको छ । लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो ।
लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदन तयारीमा जुटेको छ । कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन् ।
लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने छ ।
सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको संसदीय छानवीन समितिको निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नभएको रविले बयानमा बताएका छन् ।




प्रतिक्रिया