एकीकृत समाजवादीमा कार्यकारी भूमिका खोज्दै बामदेवले राखे शर्तहरू

एकीकृत समाजवादीमा कार्यकारी भूमिका खोज्दै बामदेवले राखे शर्तहरू


काठमाण्डु – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकीकरणका लागि नेकपा एकीकृत समाजवादीमा कार्यकारी भूमिका पाउनुपर्ने शर्त राखेका छन् ।

सोमबार अध्यक्ष माधवकुमार नेपाललाई भेट्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका उनले पार्टीलाई सक्रिय बनाउन ५ प्रस्ताव पनि लागू हुनुपर्ने शर्त राखेका छन् ।

उनले पुराना संस्मरणहरू पुनर्जीवित गर्ने गरी काम हुनुपर्ने बताए । अध्यक्ष नेपालसँगको भेटपछि गौतमले पुराना संस्मरणहरू पुनर्जीवित गरिएको र नयाँ आयामको सुरुवात हुन लागेको बताए । शर्त लागू भए एकीकृत समाजवादी प्रवेशको सम्भावना रहेको उनले बताए ।

सोमबारको भेटमा पार्टी एकताको क्रममा आफूनिकट नेताहरूले कुन–कुन जिम्मेवारी पाउने भन्दै गौतमले चासो राखेका थिए । एकीकृत समाजवादीमा गौतमलाई नेपाल र झलनाथ खनालपछिको वरियता दिने तयारी छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो लागिसकेको छैन ।

गौतमले पार्टीलाई सक्रिय बनाउन आफ्नो क्रियाशील भूमिका पनि माग गरेका छन् । उनले आफ्नो मात्र नभएर आफूसँग भएका नेताहरूको उचित व्यवस्थापनको माग गरेका छन् ।

वरिष्ठ नेताको सक्रिय भूमिका नहुने भन्दै आफूलाई २४सै घण्टा केही न केही गर्ने भूमिका दिनुपर्ने माग उनले गरेका छन् । कार्यक्षेत्र विनाको नेता र केही नभएको कार्यक्षेत्र लिएर काम गर्न नसकिने उनको मत रहेको स्रोतले जनाएको छ ।