काठमाण्डु-विपक्षी दलहरूको बैठक शुक्रवार बस्दै छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको कार्यालयमा बैठक २ बजे बस्दैछ ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेबपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायतका दल विपक्षमा छन् ।
बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन पनि आयोजना गर्ने छ । पत्रकार सम्मेलनमा आफूहरुका माग र आगामी रणनीतिबारे जानकारी गराउने नेताहरुले बताएका छन् ।
यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।
संसदको नियमित अधिवेशन बोलाउन ढिलो गरेको, संसद अधिवेशन नबोलाएर अध्यादेश जारी गरेको लगायतका मुद्दा उठाउँदै सरकारको आलोचना गर्दै आएका विपक्षीले सत्ता पक्षमै रहेका साना दलहरूको समेत साथ लिएर सरकारविरुद्ध उत्रने रणनीति बनाएका छन् ।




प्रतिक्रिया